Birgunj News24
जीराभवानीगाउँपालिकामा विद्यालय सुधार योजना (SIP) लाई समावेशी र प्रभावकारी बनाउने विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

वीरगञ्ज, पर्सा। जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (SIP) लाई समावेशी र प्रभावकारी बनाउने विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
युरोपियन युनियनको आर्थिक सहयोगमा People in Need, Accountability Lab Nepal, National Campaign for Education Nepal (NCE Nepal) र नेपाल अपांग महिला संघको सहकार्य तथा दिव्य विकास स्रोत केन्द्र, पर्साको संयुक्त साझेदारीमा सञ्चालित ACCESS परियोजनाअन्तर्गत कार्यक्रम आयोजना गरिएको हो।
जिराभवानी गाउँपालिकाका तीन विद्यालयका प्रतिनिधिहरूको सहभागितामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कठकुइया–बसन्तपुर, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सेढवा र श्री बिता महतो जनता माध्यमिक विद्यालय नौकाटोलाका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक–अभिभावक संघका प्रतिनिधि तथा सूचना प्रविधिसम्बन्धी जिम्मेवारी सम्हाल्ने शिक्षक सहभागी थिए।
कार्यक्रममा गाउँपालिकाको शिक्षा शाखा प्रमुखका प्रतिनिधि हरिशंकर चौधरीले विद्यालय सुधार योजना तयार तथा अद्यावधिक गर्दा विद्यालयमा अध्ययनरत सबै बालबालिकाको पहुँच, सहभागिता र आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्ने बताए। विद्यालयको वास्तविक अवस्था पहिचान गरी त्यसैका आधारमा समावेशी योजना निर्माण र प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए।
अभिमुखीकरणका क्रममा विद्यालयको वर्तमान अवस्था तथा आवश्यकता पहिचान, समावेशी र सहभागितामूलक विद्यालय सुधार योजना निर्माण, प्राथमिकता निर्धारण तथा योजनाको प्रभावकारी कार्यान्वयनका विषयमा सहजीकरण गरिएको थियो।
कार्यक्रमपछि सहभागी तीनवटै विद्यालयका प्रतिनिधिले असोज मसान्तभित्र विद्यालय सुधार योजनालाई समावेशी दृष्टिकोणबाट अद्यावधिक गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका छन्। विशेषगरी सीमान्तकृत, पछाडि पारिएका तथा वञ्चित समुदायका बालबालिकाको आवश्यकता र सहभागितालाई विद्यालयको योजनामा समेट्ने विषयलाई प्राथमिकता दिइने जनाइएको छ।
कार्यक्रमको सहजीकरण दिव्य विकास स्रोत केन्द्र, पर्साका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीले गरेका थिए। कार्यक्रममा Accountability Lab Nepal का प्रतिनिधि अकलेश कुमार साह तथा दिव्य विकास स्रोत केन्द्रका कार्यक्रम जिम्मेवार अमित कुमार राउतले सहजीकरण तथा समन्वयमा सहयोग गरेका थिए।
आयोजकका अनुसार अभिमुखीकरणले विद्यालयका सरोकारवालालाई समावेशी विद्यालय सुधार योजनाको आवश्यकता, निर्माण तथा अद्यावधिक प्रक्रिया र कार्यान्वयनबारे थप स्पष्टता दिएको छ। तीनवटै विद्यालयले योजना अद्यावधिक गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाउनु कार्यक्रमको प्रमुख उपलब्धि रहेको जनाइएको छ।

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  २०:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update