वीरगञ्ज । कादम्बरी स्कुलले विद्यार्थीको सिर्जनात्मक क्षमता, लेखनकला तथा साहित्यिक प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले विद्यालयको मुखपत्रका रूपमा ‘कादम्बरी बुलेटिन’ प्रकाशन सुरु गरेको छ।
विद्यालयका सञ्चालक दीपक तुलसियानको सभापतित्व तथा मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्यको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बुलेटिनको संयुक्त रूपमा विमोचन गरिएको हो।
कार्यक्रममा मधेस विश्वविद्यालयका उपकुलपति प्रा. डा. शाक्य, कादम्बरी स्कुलका सञ्चालक दीपक तुलसियान, प्रिन्सिपल राजेन्द्र आचार्य, प्याब्सन मधेस प्रदेशका उपाध्यक्ष एवं मनकामना माध्यमिक विद्यालयका प्रिन्सिपल पुरन प्रधान, डीएभी स्कुलका प्रिन्सिपल राकेश मिश्र, जीवन ज्योति स्कुलका प्रिन्सिपल शिवजी गुप्ता, सगरमाथा एकेडेमी बोर्डिङ स्कुलका प्रिन्सिपल जियालाल गुप्ता, डीपीएस स्कुलका प्रिन्सिपल रञ्जित आनन्द तथा शिक्षिका नकर्मीलगायतले संयुक्त रूपमा बुलेटिन विमोचन गरेका थिए।
विमोचन कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. शाक्यले ‘कादम्बरी बुलेटिन’ विद्यार्थीको शैक्षिक ज्ञानसँगै साहित्यिक तथा सिर्जनात्मक प्रतिभा प्रस्फुटन गराउने महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरे।
उनले विद्यार्थीलाई अध्ययनसँगै लेख, रचना, कविता तथा अन्य साहित्यिक विधामार्फत आफ्ना विचार र कलात्मक प्रतिभा प्रस्तुत गर्ने अवसर आवश्यक रहेको बताए। यस्ता प्रकाशनले विद्यार्थीभित्र लुकेका प्रतिभा उजागर गर्नुका साथै पठन तथा लेखन संस्कृतिको विकासमा सहयोग पुग्ने उनको भनाइ थियो।
विद्यालयले पाठ्यपुस्तकमा आधारित शिक्षासँगै अतिरिक्त क्रियाकलाप, साहित्य, कला तथा सिर्जनात्मक गतिविधिमा विद्यार्थीको सहभागिता बढाउने उद्देश्यले बुलेटिन प्रकाशन सुरु गरेको जनाएको छ।
कार्यक्रममा सहभागी शिक्षक तथा विद्यालयका प्रतिनिधिहरूले पनि बुलेटिनले विद्यार्थीको आत्मविश्वास, सिर्जनशीलता र लेखन सीप विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।


