Birgunj News24
११ क्विन्टल गाँजा बरामदपछि सिरहामा तस्करको खोजी, बोलेरो–मोटरसाइकल नियन्त्रणमा।

सिरहा । सशस्त्र प्रहरी बलले सिरहाको सुखीपुरबाट ११ क्विन्टल भन्दा बढी अवैध गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा ओसार पसारमा प्रयोग भएको बोलेरो पिकअप र मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।

सुखीपुर नगरपालिका–१० स्थित विश्वकर्मा चोक नजिक गागन खोलाको पुल क्षेत्रमा बुधबार राति करिब १ बजे विशेष सूचनाका आधारमा सशस्त्र प्रहरीको संयुक्त टोलीले ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण, सुरक्षा बेस गोलबजार र सुरक्षा बेस सुखीपुरबाट खटिएको संयुक्त गस्ती टोलीले बा १४ च २९४ नम्बरको बोलेरो पिकअप र त्यसलाई अगाडि–अगाडि स्कर्टिङ गर्दै गएको स ६ प ४८५९ नम्बरको मोटरसाइकललाई शङ्का लागेर रोक्न खोजेको थियो।

तर प्रहरी टोलीलाई देखेपछि दुवै सवारीसाधनका चालकहरू सवारी छाडेर फरार भएका थिए।

प्रहरीले बोलेरोको पछाडिको भागमा लोड गरिएका २६ वटा जुटका बोरा खानतलासी गर्दा १ हजार १०२ दशमलव ६५५ किलो अर्थात् ११ क्विन्टल २ किलोभन्दा बढी गाँजा फेला पारेको जनाएको छ।

बरामद गाँजा, बोलेरो पिकअप र मोटरसाइकललाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालय तथा नेपाल प्रहरीको निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

रातको समयमा ठूलो परिमाणमा गाँजा ओसारपसार भइरहेकाले सीमापार भारततर्फ तस्करी गर्ने उद्देश्य हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। फरार चालक तथा घटनामा संलग्न तस्कर समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३  १४:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update