वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपाल पर्साले विभिन्न स्थानबाट भन्सार छली नेपाल भित्र्याइएका तथा अवैध रूपमा उत्खननमा प्रयोग गरिएको ट्रयाक्टरसहित करिब १३ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।
सशस्त्र प्रहरीका अनुसार मिति २०८३ असोज १६ गते वीरगञ्ज महानगरपालिका–१६ इनर्वा बलिरामपुरस्थित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले भारतबाट भन्सार छली मोटरसाइकलमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको २ लाख ५१ हजार ८२० रुपैयाँ बराबरको कपडा तथा मोटरसाइकल नियन्त्रणमा लिएको थियो।
सोही युनिटको टोलीले वीरगञ्ज महानगरपालिका–१६ भन्सार मेनगेट क्षेत्रबाट १ लाख १२ हजार ८०० रुपैयाँ बराबरको स्मार्ट टिभी तथा टाँगा र घोडा समेत नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।
त्यस्तै, वीरगञ्ज महानगरपालिका–१ बोरिङस्थित सीमा क्षेत्रमा बीओपी सिर्सियाबाट खटिएको टोलीले झाडीमा लुकाइछिपाइ राखिएको अवस्थामा १ लाख ७३ हजार ७१० रुपैयाँ बराबरको कपडा तथा हार्डवेयरका सामान बरामद गरेको छ।
यस्तै, असोज १७ गते पकाहाँमैनपुर गाउँपालिका–५ सबैठवा सीमा क्षेत्रमा सीमा सुरक्षा गुल्म हेडक्वार्टर लहावरथकरीबाट खटिएको टोलीले भारतबाट चार जना व्यक्तिले टाउकोमा बोकी नेपालतर्फ ल्याउँदै गरेको ३ लाख रुपैयाँ बराबरको विभिन्न किसिमका कपडा बरामद गरेको छ।
वीरगञ्ज महानगरपालिका–१६ इनर्वा क्षेत्रमा खटिएको अर्को टोलीले दुई जना व्यक्तिले भारतबाट भन्सार छली ल्याउँदै गरेको ६० हजार रुपैयाँ बराबरको एसी समेत नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।
यसैगरी, वीरगञ्ज महानगरपालिका–२५ खल्वास्थित बीओपी ड्राइपोर्टबाट खटिएको टोलीले दुई जना व्यक्तिले टाउकोमा बोकी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ४ लाख २७ हजार ३८० रुपैयाँ बराबरका विभिन्न प्रकारका औषधि बरामद गरेको छ।
त्यसैगरी, वीरगञ्ज महानगरपालिका–३१ स्थित भेडाहा खोलामा सुरक्षा बेस बेल्वाबाट खटिएको टोलीले अवैध रूपमा बालुवा उत्खनन गरी ट्रयाक्टरमा लोड गरिरहेको अवस्थामा ना.५ त ४८४० नम्बरको सोनालिका ट्रयाक्टर नियन्त्रणमा लिएको छ। उक्त ट्रयाक्टरलाई आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समिति कार्यालय, वीरगञ्ज पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएका कपडा, हार्डवेयर, स्मार्ट टिभी, एसी, औषधि तथा अन्य सामानहरू आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको तथा केही सामान बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीले जानकारी दिएका छन्।


