१३ असोज, काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अध्यक्ष डा। खलिलुर रहमानसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको उक्त भेटवार्तामा परराष्ट्रमन्त्री खनालले ८१औँ महासभाको अध्यक्ष पदमा निर्वाचित भएकोमा डा। रहमानलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको मन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा मन्त्री खनालले अध्यक्षको कार्यकालभरि नेपालको तर्फबाट पूर्ण सहयोग र समर्थन रहने प्रतिबद्धता जनाएका थिए ।
भेटका क्रममा दुई पक्षबिच संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका प्राथमिकताका विषयहरूका साथै संयुक्त राष्ट्रसङ्घलाई केन्द्रमा राखेर वैश्विक बहुपक्षीयतालाई थप सुदृढ बनाउनेबारे गहन छलफल भएको थियो ।
यसैगरी, भेटवार्तामा नेपालमा हालै गएको विनाशकारी जलवायुजन्य विपद्को असर, त्यसले पुर्याएको ठूलो क्षति र पुनर्निर्माणका चुनौतीहरूबारे समेत विचार आदानप्रदान भएको छ । नेपालजस्ता अति कम विकसित तथा भूपरिवेष्ठित राष्ट्रहरूले भोग्नुपरेको जलवायु परिवर्तनको जोखिम र अन्तर्राष्ट्रिय सहयोगको आवश्यकताबारे परराष्ट्रमन्त्री खनालले राष्ट्रसङ्घीय नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।


