बारा, फेटा । आनन्द पटेल — बारा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत फेटा गाउँपालिका–१ त्रिवेणीमा सडक ढलान कार्य सुरु भएको छ। मंगलबारदेखि सुरु भएको सडक ढलान कार्यको उद्घाटन जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य सन्जु साहले गरेका हुन्।
सडक ढलान उद्घाटन कार्यक्रममा फेटा गाउँपालिका–१ का वडा अध्यक्ष बिगन दास तत्मा, विशिष्ट अतिथि मदन साह, संविधानसभा सदस्य जयप्रकाश यादव, जसपा नेपालका केन्द्रीय सदस्य सिताराम प्रसाद गुप्ता लगायत स्थानीय जनप्रतिनिधि, राजनीतिकर्मी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।
त्रिवेणीको सडक स्तरोन्नतिका लागि ८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जनाइएको छ। ढलान कार्य सम्पन्न भएपछि स्थानीयवासीको दैनिक आवतजावत सहज हुनुका साथै वर्षायाममा सडकमा हुने हिलो र पानी जम्ने समस्यामा समेत कमी आउने अपेक्षा गरिएको छ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सन्जु साहले सडकजस्ता आधारभूत पूर्वाधारको विकासले स्थानीय बासिन्दाको दैनिकी सहज बनाउनुका साथै गाउँको समग्र आर्थिक तथा सामाजिक विकासमा समेत सकारात्मक प्रभाव पार्ने बताए।
उनले विकास निर्माणका काममा गुणस्तर, पारदर्शिता र समयमै काम सम्पन्न गर्ने कुरालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। स्थानीय तहमा आवश्यक पूर्वाधार निर्माणका लागि जनताको आवश्यकता र प्राथमिकताका आधारमा योजना अघि बढाउनुपर्ने उनको भनाइ थियो।
सडक ढलान कार्य सुरु भएपछि त्रिवेणीका स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। उनीहरूले लामो समयदेखि भोग्दै आएको आवतजावतको समस्या समाधानतर्फ काम सुरु भएको भन्दै आगामी दिनमा गाउँका अन्य आवश्यक सडक, नाला तथा पूर्वाधार निर्माणलाई समेत प्राथमिकतामा राख्न आग्रह गरेका छन्।


