Birgunj News24
उपप्रमुख इम्तियाज आलमको निवासमा १८ नगर प्रहरी खटाइएको समाचार भ्रामक : सचिवालय ​वीरगञ्ज :

वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको निजी निवासमा १८ जना नगर प्रहरी खटाइएको भनी सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका समाचार तथ्यहीन र भ्रामक रहेको उपप्रमुख सचिवालयले स्पष्ट पारेको छ।
​सचिवालयले एक वक्तव्य जारी गर्दै सार्वजनिक भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बाहिर दाबी गरिएजस्तो ठूलो संख्यामा नगर प्रहरी परिचालन नगरिएको प्रस्ट पारेको हो।
​विगतमा जेन–जी आन्दोलनका क्रममा भएको आक्रमण र त्यसपछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा संवेदनशीलताका आधारमा उपप्रमुखको निवासमा केवल २ जना मात्र नगर प्रहरी खटाइएको सचिवालयको भनाइ छ। १८ जना प्रहरी खटाइएको भन्ने प्रचार पूर्णतया कपोलकल्पित र आधारहीन रहेको वक्तव्यमा उल्लेख छ।
​तथ्यको सामान्य पुष्टि समेत नगरी सार्वजनिक पदमा रहेका व्यक्तिको छवि धुमिल बनाउन, व्यक्तिगत लाभ लिन र सस्तो लोकप्रियताका लागि चरित्र हत्या गर्ने उद्देश्यले यस्ता भ्रामक सूचना सम्प्रेषण गरिएको सचिवालयले आरोप लगाएको छ।
​सचिवालयले यस्ता कपोलकल्पित र भ्रामक समाचारको पछि नलाग्न आम नागरिक तथा सञ्चारकर्मीहरूलाई आग्रह गरेको छ। साथै, जिम्मेवार पत्रकारिताको मर्मलाई आत्मसात् गर्दै तथ्य बुझेर मात्र समाचार प्रकाशन तथा प्रसारण गर्न सम्पूर्ण सञ्चारमाध्यमहरूसँग अपिल समेत गरिएको छ।

प्रकाशित मिति: शनिबार, असोज ३, २०८३  १८:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update