सीमा जोडिएको भारतको नायकटोला गाउँनजिक शनिबार साँझ एसएसबीको ७१औँ वाहिनीअन्तर्गत ई–कम्पनी बीओपी नायकटोलाको टोलीले विशेष सूचनाका आधारमा कारबाही गरेको हो।
एसएसबीका अनुसार नेपालबाट साइकलमा सामान लोड गरी भारत प्रवेश गरेर पुनः नेपालतर्फ फर्किँदै गरेका व्यक्तिमाथि निगरानी राखिएको थियो। उनीहरूको गतिविधि शंकास्पद देखिएपछि नाकाबन्दी गरी नियन्त्रणमा लिइएको एसएसबीले जनाएको छ।
तलासीका क्रममा ६ वटा साइकलमा लोड गरिएको २४ बोरा चकलेट बरामद भएको थियो। बरामद चकलेटको कुल तौल ९६० किलो रहेको बताइएको छ।
पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–मटिअर्वाका ४० वर्षीय राजु महतो, ४८ वर्षीय रामानन्द महतो, ४५ वर्षीय सुरेन्द्र महतो, ४७ वर्षीय रामप्रवेश मण्डल, ४५ वर्षीय महेन्द्र महतो र २२ वर्षीय विकासकुमार मण्डल रहेका छन्।
एसएसबीका अनुसार भारतबाट अवैध रूपमा नेपालतर्फ चकलेट लैजाँदै गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ परेका ६ जना नेपाली नागरिक, बरामद चकलेट तथा साइकललाई थप कानुनी कारबाहीका लागि मोतिहारीस्थित भन्सार कार्यालयमा बुझाइएको एसएसबीले जनाएको छ।
सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणका लागि निगरानी तथा गस्ती थप कडा पारिएको एसएसबीले जनाएको छ।


