वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपाल पर्साले भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याइँदै गरेका विभिन्न सामान बरामद गरी आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।
मिति २०८३ असोज २२ गते पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित भुटनदेवी मन्दिर नजिकको सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साबाट खटिएको टोलीले भारतबाट भन्सार छली ल्याउँदै गरेको ९ लाख २२ हजार ५०० रुपैयाँ बराबरको औषधि नियन्त्रणमा लिएको थियो।
त्यस्तै, सोही गणबाट खटिएको अर्को टोलीले वीरगञ्ज महानगरपालिका–१६ क्षेत्रमा भारतबाट भन्सार छली दुईवटा मोटरसाइकलमा लोड गरी ल्याउँदै गरेको ३ लाख २ हजार ९६० रुपैयाँ बराबरको मोटरसाइकलसहित तरकारी बरामद गरेको छ।
यसैगरी, सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१६ इनर्वा सीमा क्षेत्रबाट भारतबाट अवैध रूपमा भन्सार छली ल्याउँदै गरेको १ लाख ७७ हजार ८६० रुपैयाँ बराबरको कपडा तथा जुत्ता बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।
त्यस्तै, पर्साको जगरनाथपुर गाउँपालिका–२ लक्ष्मीपुर चोकमा सीमा सुरक्षा गुल्म भिखमपुरबाट खटिएको टोलीले भारतबाट भन्सार छली एउटा मोटरसाइकलमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको १ लाख २५ हजार १०० रुपैयाँ बराबरको सामान तथा मोटरसाइकल नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका सबै सामान तथा प्रयोग भएका सवारीसाधन आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (स.प्र.ना.उ.) सुरज क्षेत्रीले उक्त जानकारी दिएका हुन्।


