Birgunj News24
बिरामी लिएर चितवन जाँदै गरेको एम्बुलेन्स लाई खोलाले बगायो।

वीरगञ्ज, २१ असोज । पर्साको ठोरी गाउँपालिका–४ बाट बिरामी लिएर चितवनतर्फ जाँदै गरेको एम्बुलेन्स बाढीले खोलामा बगाएको को छ। मधेस प्रदेश ०३–००१ झ ०१४७ नम्बरको एम्बुलेन्स बुधबार बिहान चितवनको माडी क्षेत्रमा आएको भारी वर्षापछि बढेको पानी को बहाव को कारण खोलाले एम्बुलेन्स बगाए को हो।

ठोरीका समाजसेवी धिर सिंहका अनुसार माडीस्थित बगही खोलाको पुलबाट पूर्वतर्फ रहेको सानो खोलामा पानीको बहाव बढेपछि एम्बुलेन्स बगेको हो। एम्बुलेन्समा चालक दुर्गा सिंह, बिरामी रोहन लामा लगायत तीन जना सवार थिए।

स्थानीय गाउँबासी र डोजरको सहयोगमा एम्बुलेन्सलाई खोलाबाट बाहिर निकालिएको थियो। त्यसपछि बिरामीसहित तीनै जनालाई अर्को एम्बुलेन्स मार्फत चितवनहस्पिटल पठाइएको थियो र उनीहरू सबै सकुशल रहेको समाजसेवी सिंहले जानकारी दिएका छन्।

यस घटनापछि ठोरीवासीले वर्षायाममा आवतजावतमा हुने समस्या समाधानका लागि ठोरीदेखि चौतारा हुँदै बाँदरझुलाको अन्तिम विन्दुसम्म सडक निर्माण तथा खोलामा आवश्यक पुल निर्माण गर्न सरकारसँग माग गरेका छन्।

समाजसेवी सिंहका अनुसार यस क्षेत्रका बासिन्दाहरुले वर्षायाममा खोलामा पुल तथा सडकको अभावका कारण लामो समयदेखि सास्ती भोग्दै आएका छन्। यसअघि जंगली जनावर बस्ती तथा खेतबारीमा प्रवेश गरी किसानको बालीनालीमा क्षति पुर्‍याउने र स्थानीय बासिन्दा तथा बटुवालाई जोखिममा पार्ने समस्या रहेकोमा अहिले वर्षायाममा सडक तथा पुलको अभाव थप चुनौती बनेको ठोरीवासीको भनाइ छ।

ठोरीवासीले सुरक्षित आवागमनका लागि सडक तथा पुल निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन नयाँ सरकारसँग माग गरेका छन्।

प्रकाशित मिति: बिहीबार, असोज २२, २०८३  ०१:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update