वीरगञ्ज, १९ असोज
अन्तर्राष्ट्रिय शिक्षक दिवसको अवसरमा पर्सा जिल्लाको वीरगञ्जबाट शिक्षा क्षेत्रमा योगदान पुर्याउँदै आएका तीन जना विद्यालय सञ्चालक तथा शिक्षाविद्लाई भारतको पूर्वी चम्पारणस्थित रक्सौलमा सम्मान गरिएको छ।
विश्व शिक्षक दिवसको पूर्वसन्ध्यामा रक्सौलमा आयोजित जिल्लास्तरीय शिक्षक सम्मान तथा सांस्कृतिक कार्यक्रममा वीरगञ्जका तीन जना शिक्षाविद्लाई शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो।
सम्मानित हुनेहरूमा सगरमाथा एकेडेमी, मुर्ली–१२, वीरगञ्जका प्रिन्सिपल तथा निर्देशक एवं नेशनल प्याब्सन वीरगञ्ज नगर अध्यक्ष जियालाल गुप्ता, गुगल एकेडेमी, वीरगञ्जका प्रिन्सिपल तथा निर्देशक नरेश राउत कुर्मी र अध्ययन एकेडेमी, वीरगञ्ज–१६ का प्रिन्सिपल तथा निर्देशक गौतम श्रीवास्तव रहेका छन्।
शिक्षाको गुणस्तर अभिवृद्धि, विद्यार्थीको सर्वाङ्गीण विकास तथा समाजमा शैक्षिक चेतना विस्तार गर्न उनीहरूले पुर्याउँदै आएको योगदानको कदरस्वरूप सम्मान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा शिक्षकको भूमिका, शिक्षा तथा संस्कारको महत्व र समाज निर्माणमा शिक्षकले निर्वाह गर्ने जिम्मेवारीबारे चर्चा गरिएको थियो। कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत आयोजना गरिएको थियो।
शिक्षक केवल ज्ञान प्रदान गर्ने व्यक्ति मात्र नभई विद्यार्थीको भविष्य निर्माणसँगै समाज र राष्ट्रलाई सही दिशातर्फ अघि बढाउने मार्गदर्शकका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने वक्ताहरूले बताएका थिए।
वीरगञ्जका तीन शिक्षाविद्को सम्मानले शिक्षा क्षेत्रमा उनीहरूले पुर्याउँदै आएको योगदानलाई थप प्रोत्साहन मिल्नुका साथै नेपाल–भारतबीचको शैक्षिक तथा सामाजिक सम्बन्धलाई समेत थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको थियो।


