काठमाडौँ । विभिन्न स्थानमा पहिरो खसेपछि केही प्रमुख सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ भने केही सडकखण्ड भने सामान्य रूपमा सञ्चालनमा रहेका छन्।
कान्तिलोकपथ सडकखण्ड अन्तर्गत मकवानपुरतर्फको सडकखण्ड हाल क्लियर रहेको जनाइएको छ। तर, ललितपुरको बागमती गाउँपालिका–३ स्थित पाँचधुरे, पयाङधुर र टिकाभैरव क्षेत्रमा सडक माथिबाट पहिरो खसेपछि सडक पूर्णरूपमा दुईतर्फी (Two Way) अवरुद्ध भएको जानकारी प्राप्त भएको छ। उक्त अवस्थाबारे बिहान ६ः१५ बजे भट्टेडाँडा, ललितपुरमार्फत जानकारी प्राप्त भएको हो।
त्यस्तै, हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल–सिस्नेरी सडकखण्ड मा पहिरो नखसेको र सडक क्लियर रहेकाले सवारी आवागमन सुचारु रहेको छ।
त्रिभुवन राजपथ समेत हाल पहिरोका कारण प्रभावित नभएको र सडक क्लियर रही सवारी आवागमन सुचारु रहेको जनाइएको छ।
यसैगरी, पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीर नजिक तथा ज्यामिरे क्षेत्रमा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको छ। पहिरोका कारण सडक अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय चितवन र जिल्ला प्रशासन कार्यालय धादिङले छुट्टाछुट्टै सूचना जारी गर्दै अर्को सूचना नभएसम्म पृथ्वी राजमार्गमा सवारीसाधन सञ्चालनमा पूर्णरूपमा रोक लगाएको जानकारी प्राप्त भएको छ।
सम्बन्धित सडकखण्ड हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरिएको छ।


