Birgunj News24
वीरगञ्जको हरिखेतान क्याम्पसमा दुई करोड संकलन, हिसाब खोज्दै सहयोगकर्ता दुई दशकदेखि अलपत्र विश्वविद्यालयको सपना, दुई करोडभन्दा बढी रकमको हिसाब खोज्दै सहयोगकर्ता।

वीरगञ्ज । करिब दुई दशकअघि वीरगञ्ज क्षेत्रमा विश्वविद्यालय स्थापना गर्ने उद्देश्यले संकलन गरिएको दुई करोड रुपैयाँभन्दा बढी रकम हालसम्म उपयोग हुन नसकेको भन्दै सहयोगकर्ता तथा हरिकेतन बहुमुखी क्याम्पसका शिक्षक–कर्मचारीले असन्तुष्टि जनाएका छन्। विश्वविद्यालय स्थापनाको लक्ष्यसहित उत्साहपूर्वक रकम संकलन गरिए पनि लामो समय बितिसक्दा पनि प्रक्रिया अघि बढ्न नसकेपछि सहयोगकर्ताहरूले संकलित रकमको अवस्था र उपयोगबारे चासो व्यक्त गरेका हुन्।

विश्वविद्यालय स्थापनाका लागि हरिकेतन बहुमुखी क्याम्पसका शिक्षक तथा कर्मचारीहरूले आफ्नो एक दिनको तलब सहयोग गरेका थिए। त्यस्तै तत्कालीन संविधान सभाका सदस्यहरूसहित विभिन्न व्यक्ति तथा संस्थाले समेत विश्वविद्यालय स्थापनाका लागि आर्थिक सहयोग गरेका थिए। स्थानीय उद्यमी, व्यापारी तथा विभिन्न सामाजिक संघसंस्थाले पनि अभियानमा आर्थिक सहयोग गरेका थिए।

अभियानका क्रममा दुई करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको बताइएको छ। विश्वविद्यालय स्थापना गर्ने उद्देश्यले संकलन गरिएको रकम लामो समयसम्म उपयोग हुन नसक्दा सहयोगकर्ताहरूले रकमको पारदर्शी व्यवस्थापन र वर्तमान अवस्थाबारे जानकारी माग गर्न थालेका छन्।

यसैबीच विश्वविद्यालय स्थापनाका लागि गठित समितिको नेतृत्व गरेका तत्कालीन हरिकेतन बहुमुखी क्याम्पसका प्राचार्य डा. भगवानप्रसाद यादव रकम निकासीसम्बन्धी अनुसन्धानमा तानिएपछि संकलित रकमको अवस्थाबारे सहयोगकर्ताहरूको चासो झनै बढेको छ। रकम संकलनमा योगदान गरेका शिक्षक–कर्मचारी, उद्यमी, व्यापारी तथा सामाजिक संस्थाका प्रतिनिधिहरूले विश्वविद्यालय स्थापनाको अभियान कहाँ पुग्यो र संकलित रकमको अवस्था के छ भन्ने विषयमा स्पष्ट जानकारी आवश्यक रहेको बताएका छन्।

विश्वविद्यालय स्थापनाका लागि आवश्यक जग्गा व्यवस्थापन हुन नसकेपछि प्रक्रिया अघि बढ्न नसकेको बताइएको छ। जग्गा व्यवस्थापन हुन नसक्दा विश्वविद्यालय स्थापना गर्ने योजना अलपत्र परेको हो। लामो समयदेखि योजना कार्यान्वयनमा नआएपछि अभियानमा सहयोग गरेका व्यक्तिहरूमा निराशा बढेको छ भने संकलित रकमको पारदर्शी व्यवस्थापन र उपयोगबारे प्रश्नसमेत उठेको छ।

विश्वविद्यालय स्थापनाको उद्देश्यले वर्षौंअघि सुरु गरिएको अभियानले अपेक्षित गति लिन नसकेपछि अब संकलित रकमको अवस्था, व्यवस्थापन र आगामी योजनाबारे सम्बन्धित पक्षले स्पष्ट जानकारी दिनुपर्ने माग उठेको छ।

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  २०:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update