Birgunj News24
पर्सामा निःशुल्क आँखा परीक्षण शिविर: १,३६२ जना लाभान्वित, २३१ जनाको मोतिबिन्दुको शल्यक्रिया।

वीरगञ्ज– हेटौंडा सामुदायिक आँखा अस्पतालको आयोजना तथा तिलगंगा आँखा उपचार केन्द्र (निचुटा, पर्सा) को समन्वयमा पर्सा जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण शिविरबाट १ हजार ३ सय ६२ जना लाभान्वित भएका छन्।

फ्रेड हलोज फाउन्डेसनको आर्थिक सहयोग तथा पटेर्वा सुगौली गाउँपालिकाको स्थानीय सहकार्यमा गत असोज १७ देखि २२ गतेसम्म पर्साका विभिन्न स्थानमा शिविर सञ्चालन गरिएको थियो। शिविर जानकीटोला (जगरनाथपुर–२), पोखरिया–४, सुवर्णपुर (ठोरी–५), महादेवपट्टी (जिराभवानी–१), औराहा (सखुवाप्रसौनी–२), सोनबर्सा (पटेर्वा सुगौली–१) तथा निचुटा सामुदायिक आँखा उपचार केन्द्र (पटेर्वा सुगौली–५) लगायतका  स्थानमा आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो। 

उक्त शिविरमा कुल १ हजार ३ सय ६२ जनाले निःशुल्क आँखा परीक्षण गराएका थिए। परीक्षणका क्रममा ३ सय ८६ जनामा मोतिबिन्दुको समस्या पहिचान भएको कार्यक्रम संयोजक कृष्ण कुशवाहाले जानकारी दिए।

पहिचान भएका बिरामीमध्ये असोज २२ र २३ गते २ सय ३१ जनाको मोतिबिन्दुको सफल शल्यक्रिया गरिएको छ। जसअन्तर्गत असोज २२ गते १ सय ३९ जना र असोज २३ गते ९२ जनाको शल्यक्रिया गरिएको थियो। दोस्रो दिन शल्यक्रिया गरिएका बिरामीमध्ये एक जनाको दुवै आँखाको शल्यक्रिया गरिएको संयोजक कुशवाहाले बताए।

ग्रामीण तथा स्वास्थ्य सेवाको पहुँच कम भएका क्षेत्रका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको यस कार्यक्रमले आर्थिक तथा भौगोलिक कठिनाइका कारण आँखा उपचारबाट वञ्चित नागरिकलाई राहत पुर्‍याएको हेटौंडा सामुदायिक आँखा अस्पतालका वरिष्ठ लेखा तथा वित्त अधिकृत उमेश महतले बताए। विशेषगरी, मोतिबिन्दुको समयमै पहिचान तथा शल्यक्रियामार्फत दृष्टि पुनःस्थापनामा सहयोग पुर्‍याउनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको उनले जानकारी दिए।

प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  १८:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update