Birgunj News24
मेयरको प्रत्यासी उमेदवार सुधीर पटेलको प्रमुख अतिथियमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।

अभिलाष गुप्ता 
वीरगञ्ज, २५ असोज

वीरगञ्ज महानगरपालिकाका वडा नम्बर ३०, ३१ र ३२ का नागरिक अगुवा समाजको आयोजनामा दशैँ, नेपाल संवत्, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। वडा नम्बर ३१ स्थित सोलखपुर फिल्डमा आयोजित कार्यक्रम युवा समाजसेवी तथा वडा नम्बर ३१ का पूर्ववडाध्यक्ष चुमन दास चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा वीरगञ्ज महानगरपालिकाको मेयर पदका प्रत्याशी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महाधिवेशन प्रतिनिधि सुधीर पटेल सहभागी भएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै पटेलले उपस्थित सबैलाई दशैँ, नेपाल संवत्, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त गरे। उनले आगामी स्थानीय तहको निर्वाचनमा आफूलाई सहयोग गर्न सबैसँग आग्रह गरे।

रास्वपाका केही नेताहरूले नेकपा एमालेबाट आएका नेताहरूलाई पार्टीमा प्रवेश गराएको विषयप्रति असन्तुष्टि व्यक्त गर्दै पटेलले आगामी निर्वाचनमा अन्य पार्टीका नेतालाई मेयरको उम्मेदवार बनाइए आफू चुप लागेर नबस्ने चेतावनी दिए। उनले यस्तो निर्णयको जनस्तरबाट समेत विरोध हुन सक्ने बताए।

परिवर्तनको पक्षमा भएको जेनजी आन्दोलनको भावना अनुरूप जेनजी आन्दोलनका अगुवालाई नै वीरगञ्ज महानगरपालिकाको मेयरको उम्मेदवार बनाउनुपर्ने माग पनि पटेलले राखे। जेनजी अगुवासमेत रहेका उनले रास्वपा नेतृत्वसमक्ष यस्तो माग गरेका हुन्। साथै उनले प्रधानमन्त्री बालेन र पार्टी सभापति रवि लामिछानेको काम तथा कर्तव्यप्रति आफू पूर्ण विश्वस्त रहेको बताए।

कार्यक्रममा जेनजी पर्साका प्रमुख सल्लाहकार वीरेन्द्र कण्ठसहित विभिन्न वडाबाट आएका अतिथिहरू घनश्याम चौधरी, गणेश चौधरी, केदार पटेल, रामदरस पण्डित, जयराम महतो, अब्दुल सयद अन्सारी, अजय पटेल, गम्भीरा शाह कलवार र प्रमिला चौधरीलगायतले चाडपर्वको शुभकामना व्यक्त गरेका थिए। उनीहरूले आगामी स्थानीय तहको निर्वाचनमा सुधीर पटेललाई सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए।

कार्यक्रमको सहजीकरण जेनजी पर्साका संयोजक महादेव प्रसाद कुर्मीले गरेका थिए भने अध्यक्ष चुमन दास चौधरीले कार्यक्रमको समापन गरेका थिए।सोलखपुर फिल्डमा आयोजित कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका वडा नम्बर ३०, ३१ र ३२ का हजारौँ स्थानीयवासीको उपस्थिति रहेको आयोजकले जनाएको छ।

प्रकाशित मिति: शनिबार, असोज २४, २०८३  २०:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update