Birgunj News24
लायन्स क्लब अफ वीरगञ्ज नवदीप एकेडेमीद्वारा भिषवा डाँडामा २०० भन्दा बढी बिरुवा रोपियो।

अभिलाष गुप्ता 
वीरगञ्ज, २५ असोज

वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले लायन्स क्लब अफ वीरगञ्ज नवदीप एकेडेमीको आयोजनामा शनिबार वीरगञ्जस्थित भिषवा डाँडामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा अमला, अम्बा, सपेता लगायत विभिन्न प्रजातिका २०० भन्दा बढी बिरुवा रोपिएको हो।

लायन्स क्लब अफ वीरगञ्ज नवदीप एकेडेमीकी अध्यक्ष सुशीला साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्सका डिस्ट्रिक्ट गभर्नर रामबिहारी पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रममा पीएमसीसी रमेश अग्रवाल, क्याबिनेट सेक्रेटरी बासु तिमल्सिना, डिस्ट्रिक्ट पीआरओ चिफ विजय कुशवाहा तथा एरिया चिफ सुनील गुप्तालगायतको उपस्थिति रहेको थियो। वृक्षरोपण कार्यक्रममा नवदीप एकेडेमीका शिक्षक तथा शिक्षिकाहरूको समेत सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले वातावरणीय सन्तुलन कायम राख्न, प्राकृतिक सम्पदाको संरक्षण गर्न तथा बढ्दो वातावरणीय चुनौती न्यूनीकरण गर्न वृक्षरोपण आवश्यक रहेको बताएका थिए। उनीहरूले वृक्षरोपण अभियानलाई निरन्तरता दिनुका साथै रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाहमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए।

वक्ताहरूका अनुसार रूखबिरुवाले कार्बन डाइअक्साइड अवशोषण गरी अक्सिजन उपलब्ध गराउन, वायु प्रदूषण न्यूनीकरण गर्न तथा जैविक विविधताको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्छन्। यसका साथै रूखबिरुवाले माटोको क्षय रोक्न, जलस्रोतको संरक्षण गर्न र वातावरणीय तापक्रम सन्तुलित राख्नसमेत सहयोग पुर्‍याउँछन्।

बढ्दो वातावरणीय चुनौतीको सामना गर्न वृक्षरोपणसँगै वनजङ्गल तथा प्राकृतिक सम्पदाको संरक्षण अपरिहार्य रहेको उल्लेख गर्दै वक्ताहरूले बिरुवा रोप्नु मात्र पर्याप्त नहुने बताए। रोपिएका बिरुवालाई हुर्काएर संरक्षण गर्नु पनि उत्तिकै महत्त्वपूर्ण भएकाले वातावरण संरक्षणलाई सबैले साझा जिम्मेवारीका रूपमा लिनुपर्ने उनीहरूको भनाइ थियो।

लायन्स क्लब अफ वीरगञ्ज नवदीप एकेडेमीले वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका लागि आयोजना गरेको उक्त कार्यक्रमले प्राकृतिक सम्पदाको संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: शनिबार, असोज २४, २०८३  २०:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update