काठमाडौं । देशका विभिन्न भू–भागमा भारी वर्षा भइरहेकाले बारा र पर्सासहित ६० भन्दा बढी जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव बढ्ने पूर्वानुमान गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बारा, पर्सा, रौतहट, मकवानपुर, रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लाका साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्न सक्ने सम्भावना छ। ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
यसैगरी पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान र दाङलगायत क्षेत्रमा भने आकस्मिक बाढीको जोखिम तुलनात्मक रूपमा उच्च रहेको महाशाखाले जनाएको छ।
मौसमविद्हरूका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालमा वर्षाको गतिविधि बढेको हो। आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाइएको छ। शुक्रबार वर्षाको गतिविधि अझ बढ्न सक्ने पूर्वानुमान छ।
वर्षाका कारण नदी तथा खोला किनार, कमजोर सडक, पुल र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्। अत्यावश्यक बाहेक भारी वर्षाका बेला लामो दूरीको यात्रा नगर्न पनि सडक विभागले अनुरोध गरेको छ।


