Birgunj News24
रामेछापका डीएसपी सन्तुलाल प्रसाद जैसवार ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित।

वीरगञ्ज/हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तुलाल प्रसाद जैसवारलाई २०८३ साल भदौ महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ (Best Province Police of the Month) घोषणा गरेको छ।
सांगठनिक नीति तथा निर्देशनअनुसार प्रदान गरिएको जिम्मेवारी र पदीय दायित्वलाई व्यावसायिक रूपमा निर्वाह गर्दै अपराध अनुसन्धान तथा नियन्त्रणमा उल्लेखनीय भूमिका खेलेको भन्दै जैसवारलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
जैसवारको नेतृत्वमा रामेछाप जिल्लामा ज्यान, ज्यान मार्ने उद्योग, शरीर बन्धक, नगद तथा सुनचाँदी लुटपाटलगायतका विभिन्न आपराधिक घटनामा संलग्न अभियुक्तहरूलाई पक्राउ गरी सफल अनुसन्धान गर्दै कानुनी दायरामा ल्याइएको कार्यालयले जनाएको छ।
त्यसैगरी सुनको सिक्री चोरी गर्ने तथा चोरीको सुन खरिद गर्ने व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाउनुका साथै विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरी अदालतको फैसला कार्यान्वयनमा समेत उल्लेखनीय योगदान पुर्‍याएको उल्लेख गरिएको छ।
अपराध रोकथाम तथा नियन्त्रणका लागि जैसवारको नेतृत्वमा आत्महत्या रोकथाम, जबर्जस्ती करणी, घरेलु हिंसा, चोरी, महिला हिंसा, मानव बेचबिखन, लागुऔषध दुव्र्यसन न्यूनीकरण, लैङ्गिक हिंसा, बैंकिङ कसुर तथा साइबर अपराधसम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएको कार्यालयले जनाएको छ।
जिल्लामा शान्ति–सुरक्षा कायम गर्न तथा अपराध न्यूनीकरणमा प्रभावकारी भूमिका निर्वाह गरेको मूल्यांकनका आधारमा उनलाई भदौ महिनाको ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषणा गरिएको हो।
बागमती प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक दीपक रेग्मीले जैसवारलाई प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेका छन्।

प्रकाशित मिति: आइतबार, असोज ४, २०८३  १७:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update