वीरगञ्ज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र भइरहेका बेला नेविसंघको राजनीतिबाट उदाएका युवा नेता मनोज कुमार साहलाई नेपाली कांग्रेस वीरगञ्ज महानगरको संयोजकको जिम्मेवारी दिइएको छ।
नेपाली कांग्रेस १५औँ जिल्ला अधिवेशन तयारी समिति, पर्साका संयोजक विजय कर्णले साहलाई वीरगञ्ज महानगरपालिकाको संयोजकको जिम्मेवारी प्रदान गरेका हुन्।
पार्टीको संगठनात्मक गतिविधिलाई थप व्यवस्थित, प्रभावकारी र सुदृढ बनाउँदै १५औँ महाधिवेशनलाई सफल, मर्यादित तथा लोकतान्त्रिक रूपमा सम्पन्न गर्न महानगरस्तरमा आवश्यक समन्वय, सहकार्य र एकता कायम गर्ने जिम्मेवारी साहलाई दिइएको समितिले जनाएको छ।
समितिका अनुसार साहले लामो समयदेखि पार्टी तथा भ्रातृ संगठनको राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। उनको अनुभव, सक्रियता, नेतृत्व क्षमता तथा संगठनप्रतिको योगदानबाट वीरगञ्ज महानगरमा पार्टी संगठन थप सुदृढ र प्रभावकारी बन्ने विश्वास समितिले व्यक्त गरेको छ।
साहको संयोजकत्वमा महानगरभित्र पार्टीका नेता तथा कार्यकर्ताबीच समन्वय बढाउँदै महाधिवेशन तयारीका संगठनात्मक गतिविधिलाई थप व्यवस्थित रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।


