Birgunj News24
भारतका ६ राज्यमा फैलियो स्वाइन फ्लु,दिल्लीमा आठ गुणाले बढे संक्रमित।

८ भदौ, काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीसहित कम्तीमा छ वटा राज्यमा स्वाइन फ्लु (एच१एन१ भाइरस) को सङ्क्रमण तीव्र रूपमा फैलिएपछि स्वास्थ्य निकायहरूले उच्च सतर्कता अपनाएका छन् ।

सङ्क्रमण दरमा वृद्धि भएसँगै उत्तराखण्ड, हिमाचल प्रदेश, हरियाणा र पञ्जाब सरकारले स्वास्थ्यसम्बन्धी विशेष परामर्श (एडभाइजरी) जारी गर्दै अस्पतालहरूलाई जुनसुकै अवस्थाका लागि तयार रहन निर्देशन दिएका छन् । 

दिल्लीमा यस वर्ष हालसम्म इन्फ्लुएन्जा–ए का २ हजार ३ सय ९२ जना सङ्क्रमित फेला परेकोमा १ हजार ७ सय ७७ जनामा स्वाइन फ्लु पुष्टि भइसकेको छ । गत वर्षको सोही अवधिमा २ सय २९ जनामा मात्र यो भाइरस देखिएको तुलनामा यस वर्ष दिल्लीमा सङ्क्रमितको सङ्ख्या करिब आठ गुणाले बढेको हो । अगस्ट २० मा मात्रै दिल्लीमा १ सय १४ जना नयाँ एच१एन१ सङ्क्रमित थपिएका छन् भने एच ३ का १ सय ३८ र एच१ का ३७ जना सङ्क्रमित भेटिएका छन् ।

दिल्लीबाहेक अन्य राज्यहरूमा पनि सङ्क्रमणको दायरा फराकिलो बन्दै गएको छ । उत्तर प्रदेशमा ३ सय ३७, हरियाणामा १ सय १९ र पञ्जाबमा ९३ जनामा स्वाइन फ्लु पुष्टि भइसकेको छ । उत्तर प्रदेशका अधिकांश सङ्क्रमित राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) अन्तर्गतका मेरठ, गाजियाबाद र गौतमबुद्ध नगरका रहेका छन् ।

उता महाराष्ट्रको मुम्बईमा पनि अगस्ट १५ सम्म ३ सय ९ जनामा सङ्क्रमण पुष्टि भएको छ, जुन गत वर्षको तुलनामा चार गुणाभन्दा बढी हो । यस्तै छत्तीसगढमा पनि सङ्क्रमणको पुष्टि भएको छ ।

स्वाइन फ्लुका बिरामी ह्वात्तै बढेपछि केन्द्रीय स्वास्थ्यमन्त्री जेपी नड्डाले परिस्थितिबारे उच्चस्तरीय समीक्षा गरेका छन् । समीक्षा बैठकमा रोगको सूक्ष्म निगरानी बढाउन, परीक्षणको दायरा विस्तार गर्न, अस्पतालको तयारी चुस्त राख्न र गम्भीर लक्षण भएका बिरामीको पहिचान गरी तत्काल उपचार प्रक्रिया सुरु गर्न राज्यहरूलाई निर्देशन दिइएको छ ।

सङ्क्रमण बढे पनि भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर) र विश्व स्वास्थ्य सङ्गठनकी पूर्वमुख्य वैज्ञानिक डा. सौम्या स्वामीनाथनले आम नागरिकलाई नआत्तिन अपिल गरेका छन् ।

यो कुनै नयाँ भेरियन्ट नभई मौसमी इन्फ्लुएन्जा नै भएको र पछिल्लो समय परीक्षणको दायरा बढेकाले सङ्क्रमितको सङ्ख्या धेरै देखिएको उनीहरूको भनाइ छ । यद्यपि, उच्च जोखिममा रहेका व्यक्ति, बालबालिका र वृद्धवृद्धालाई भीडभाडमा नजान तथा रुघाखोकीका लक्षण देखिएमा आवश्यक सावधानी अपनाउन स्वास्थ्य विशेषज्ञहरूले सुझाव दिएका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ ८, २०८३  १९:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update