नवलपरासी । दान बहादुर कार्की को प्रमुख आतिथ्यतामा नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहमा सञ्चालन गरिएको ११औँ समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दीक्षान्त समारोह बुधबार सम्पन्न भएको छ।
समारोहमा आईजीपी कार्कीले तालिममा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रशिक्षक र योगदानकर्ताहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो। सोही अवसरमा महाविद्यालय परिसरमा नवनिर्मित “आर्म ब्याज” नमुना स्तम्भको अनावरण समेत गरिएको थियो।
सम्बोधनका क्रममा आईजीपी कार्कीले शारीरिक र मानसिक रूपमा कठिन तर गौरवपूर्ण उक्त तालिम सफलतापूर्वक पूरा गरेकोमा प्रशिक्षार्थीहरूलाई बधाई दिँदै तालिमबाट हासिल ज्ञान, सीप र आत्मविश्वासले देशको आन्तरिक सुरक्षा, विपद् उद्धार, आतंकवाद नियन्त्रण तथा विशिष्ट व्यक्तिको सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
उहाँले कानुनसम्मत, विश्वासयोग्य र जनअपेक्षाअनुसार सेवा प्रवाह गर्नुपर्नेमा जोड दिँदै कुनै पनि प्रलोभन, भय वा दबाबमा नपरी उच्च व्यावसायिकता, नैतिकता र इमानदारीका साथ राष्ट्र र जनताको सेवामा समर्पित हुन दीक्षित प्रशिक्षार्थीहरूलाई निर्देशन दिनुभयो।
कार्यक्रममा शिद्धी बिक्रम शाह ले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने महाविद्यालयका प्राचार्य अनुपम शमशेर ज.ब.रा ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
तालिम संयोजक प्रहरी उपरीक्षक प्रदीप बहादुर क्षेत्रीका अनुसार ९० कार्यदिन अवधिको उक्त तालिममा प्रहरी निरीक्षक ७ जना, प्रहरी सहायक निरीक्षक १८ जना र प्रहरी जवान ६८ जना गरी कुल ९३ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो।
समारोहमा प्रशिक्षार्थीहरूले बाधापार, हतियार खोलजोड, स्याण्ड मोडल ब्रिफिङ, होस्टेज रेस्क्यू, फायर एण्ड मुभ, खाली हात लडाइँ तथा एक्सप्लोसिभ अर्डिनान्स डिस्पोजल सम्बन्धी विविध डेमोन्स्ट्रेशन प्रस्तुत गरेका थिए।
कार्यक्रममा सुनवल नगरपालिकाकी प्रमुख, प्रमुख जिल्ला अधिकारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख, सुरक्षा निकायका अधिकारी, जनप्रतिनिधि तथा स्थानीय व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


