Birgunj News24
गौतम माविका सञ्चालक लामाविरुद्ध पक्राउ पुर्जी जारी 

वीरगञ्ज, २९ कार्तिक । वीरगञ्जस्थित गौतम माविका सञ्चालक सोनम लामा विरुद्ध जिल्ला प्रशासन कार्यालय पर्साले पक्राउ पुर्जी जारी गरेको छ । अभिभावक संघर्ष समिति, पर्साका अध्यक्ष संदीप साहलाई ज्यान मार्ने धम्की दिएको विषयमा जिल्ला प्रशासन कार्यालय पर्सामा परेको उजुरीको आधारमा छानबिनका लागि उपस्थित गराउन भन्दै जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र काटेको हो । 

उजुरीकर्ता साहले ज्यान मार्ने धम्की दिएको भन्दै मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दर्ता गराएका छन् । उजुरी सम्बन्धमा कारवाही प्रक्रिया अघि बढाइएको र छलफलका लागि जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराईदिन भन्दै जिल्ला प्रहरी कार्यालय, पर्सालाई निर्देशन गरिएको छ ।

विद्यालयले चालु शैक्षिक सत्रमा लगभग एकैपटक ४५ प्रतिशत शुल्क वृद्धि किन गरिएको हो भन्दै जानकारी माग्न अध्यक्ष साहले निवेदन दर्ता गराएकोमा विद्यालयका सन्चालकले आफुलाई धम्की दिएको आरोप लगाएका छन् ।

गत कार्तिक १७ गते विद्यालयमा गई शुल्क वृद्धिको कारणसहितको सूचना आफुले माग गरेको अध्यक्ष साहले बताए । तर संचालक लामाले भने अश्लिल गाली गर्दै लछारपछार गरेको विद्यालय बाहिर निकालेको साहले बताए ।

साथै, लामाले अब बाटोमा देखिएमा ज्यान मार्ने र परिवारका सदस्यको अपहरण समेत गराईदिने भन्दै धम्की दिएको साहको आरोप छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  २२:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update