वीरगञ्ज, २२ कार्तिक । बारा प्रहरीले २५ किलोग्राम लागु औषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले बाराको निजगढ नगरपालिका वडा नम्बर १२ कुलियाबाट १ जनालाई पक्राउ गरेको हो ।
निजगढ नगरपालिका वडा नम्बर १२ बारथलीका ५८ वर्षीय प्रेम बहादुर लोसहित ३ जनाले बोकी आएको लागु औषध गाँजासहितको बोरा फाली भाग्न खोज्दा प्रेमबहादुर लोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
२ वटा बोरामा ७ किलोका दरले १४ किलो र एउटा बोरामा ११ किलो गरी जम्म २५ किलोग्राम गाँजा बरामद गरिएको प्रहरी उपरीक्षक बोगटीले बताए ।
प्रेम बहादुर लोविरुद्ध बारा जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी फरार रहेका २ जनाको खोजी तिव्र पारिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।



