Birgunj News24
नौ लाख नक्कली नेपाली नोटसहित बारामा तीन जना पक्राउ

वीरगञ्ज – नौ लाख रुपैयाँ नक्कली नेपाली नोटसहित बाराबाट तीन जना पक्राउ परेका छन् ।

एक हजार दरका नेपाली नक्कली नोटसहित एक भारतीय र २ जना नेपाली पक्राउ परेको बारा प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारत बिहार मोतिहारीको पिप्राकोट्ठीका २५ वर्षीय रंजित कुमार मुखिया, बाराको कलैया उपमहानगरपालिका १५ का ३४ वर्षीय सैनुल्लाह अंसारी, सिम्रौनगढ नगरपालिका २ का ३९ वर्षीय विनाका मुखिया रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

गएको शुक्रबार भारतीय नम्बर प्लेटमा नेपाल प्रवेश गरेका रंजितलाई शंका लागि जाँच गर्दा प्रहरीले उनको कम्मरमा बाँधिएको पेटीबाट १ हजार दरको १ ठेली र मोटरसाइकलको सिट मुनि लुकाई राखेको १ हजार दरकै ८ ठेली गरी ९ लाख नक्कली रुपैयाँ बरामद गरेको थियो ।

रंजितकै बयानको आधारमा नक्कली नेपाली रुपैयाँ सैनुल्लाह अंसारी र विनाका मुखियाले मगाएको खुलेपछि उनीहरुलाई पनि खोजि गरेर आइतबार पक्राउ गरिएको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  १८:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update