Birgunj News24
उम्मेदवारले आजदेखि कोणसभा, आमसभा गर्न पाउने
फाइल तस्बिर ।

वीरगञ्ज, १७ कार्तिक । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि १५ दिनको समयसीमा तोकिएको छ । निर्वाचन आयोगले उम्मेदवारहरूलाई आज १७ कात्तिकदेखि १ मङ्सिरसम्म प्रत्यक्ष चुनावी प्रचार गर्ने अवधि तोकेको हो ।

यस अवधिमा जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चार माध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशनरप्रसारण गर्न सकिने व्यवस्था गरिएको छ । निर्वाचन प्रचारप्रसारमा लागेको खर्चको विवरण उम्मेदवार आफैँले वा उम्मेदवारका प्रतिनिधिमार्फत १५ दिनभित्र आयोगमा बुझाउन अनिवार्य गरिएको छ ।

आमसभा, कोणसभा, मञ्चको तयारी गर्दा लागेको खर्चसमेत समेट्न आयोगले ध्यानाकर्षण गराएको छ । आचारसंहिता उल्लङ्घनका घटना बढेपछि आयोगले राजनीतिक दल र उम्मेदवारहरूलाई प्रचार अवधिमा कडाइ गर्दै खर्च विवरण २ साताभित्र बुझाउन ताकेता गरेको हो । गत स्थानीय तहमा निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्च विवरण बुझाउने समयसीमा तोकिएको थियो ।

अबको १५ दिनभित्र दल र उम्मेदवारहरूले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्‍याली गर्दा बढीमा १० वटा झण्डा प्रयोग गर्न सक्नेछन् । कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न रगराउन नहुने, उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास, धम्की दिन नहुने, कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचारप्रसार गर्न वा मत माग्न नहुने आयोगले जनाएको छ ।

आचारसंहिताको प्रतिकूल हुने गरी कुनै पनि गतिविधि नगर्न आयोगले राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षसँग आग्रहसमेत गर्दै आएको छ । आचारसंहिता लागू भएपछि आयोगमा ७१ वटा उजुरी परेका छन् । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गत १२ असोजदेखि आचारसंहिता लागू भएको छ । आचारसंहिता उल्लङ्घन गर्ने व्यक्ति तथा सङ्घसंस्थालाई स्पष्टीकरण सोध्ने र स्पष्टीकरण चित्त नबुझेमा थप दण्ड, सजाय तोकिने प्रमुख आयुक्त दिनेश थपलियाले बताए

‘उल्लङ्घनको प्रमाण तथा अवस्था हेरेर सचेत, दण्ड(जरिमाना तथा उम्मेदवारी खारेजीसम्मको निर्णयमा जानुपर्ने हुन्छ । हालसम्म चलेका स्पष्टीकरणबारे हामी यही २५ कात्तिकभित्रै निर्णयमा पुग्नेछौँ’, उनले बुधबार सञ्चारकर्मीहरूसँग भने । आचारसंहिता कार्यान्वयन तथा अनुगमनमा विभिन्न संयन्त्र परिचालन भएका र प्राप्त उजुरीबारे अध्ययन गर्ने र तथ्य जुटाएर कारबाही प्रक्रिया अघि बढाइने उनले बताए ।

यसैबीच दल तथा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा वा भेला गर्नुभन्दा कम्तीमा २४ घन्टाअघि स्थानीय प्रशासन र प्रहरीलाई निर्वाचन प्रचारप्रसार गर्ने मिति, समय, मार्ग र स्थानका बारेमा अनिवार्य जानकारी गराउन भनिएको छ । आचारसंहिताअनुसार प्रचारप्रसार कार्यक्रम बिहान ७ देखि साँझ ७ बजेसम्म मात्र गर्न, बालबालिका प्रयोग गर्न, दल र उम्मेदवारको चुनाव चिह्नको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न पाइँदैन ।

त्यसैगरी कुनै किसिमको भित्तेलेखन नगर्न, ४ पाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगालगायत सबै प्रकारका सवारी साधन प्रयोग गरी ¥याली तथा प्रचारप्रसार गराउन आयोगले निषेध गरेको छ । जुलुस वा आमसभामा भाग लिने, प्रचारप्रसार गर्ने व्यक्तिले दल तथा उम्मेदवारको निर्वाचन चिह्न र झण्डा अङ्कित लोगो, स्टिकर, कमिज, टी–र्सट, गम्छा, मास्क, झोलालगायतका सामग्री प्रयोग गर्न आयोगले कडाइ गरेको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update