Birgunj News24
छठ पर्वमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिइयो

वीरगञ्ज १३ कार्तिक । श्रद्धा र भक्तिका साथ मनाइने छठ पर्व अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ ।

अस्ताउँदो सूर्यलाई अर्घ दिन वीरगञ्जका विभिन्न छठ घाटहरुमा श्रद्धालु भक्तजनको बाक्लो भिड लागेको थियो ।

वीरगञ्जको घडिअर्वा पोखरी, स्वीमिङपुल, रानीघाट, नगवापोखरी, छपकैयाँ पोखरी, श्रीसिया लगायतका विभिन्न ठाउँमा स्थापना गरिएका छठघाटमा सूर्यलाई अर्घ दिन दिउँसैबाट श्रद्धालु भक्तजनको भिड लागेको थियो ।

 

 

षष्ठी तिथीको दिन छठ पर्बको मुख्य दिन भएकाले यस दिनलाइ सँझिया घाट भन्ने गरिएको छ ।

छठीघाटमा चोखो माटोले बनाइएको पूजास्थल सिरसोता छेउमा बसेर ब्रतालुहरुले छठी माता र सूर्य भगवानसँग जोडिएका पारम्परिक गीत गाँउने चलन रहेको छ ।

 

 

अस्ताउदै गरेका सुर्य भगवान र छठी मातालाइ ब्रतालुहरुले जलशायमा पसि बाँसको चोयाबाट बनाइएको सुपली र माटोको ढकनीमा उखु, काँचो केरा, कागती, ठेकुवा, बोडी, अदुवाको बोट, स्याउ, जटा भएको नरिवल, भिजाएको केराउ, चामलको अछता, पात सहितको मूला लगायतका फलफुल र प्रसाद राखेर अर्घ दिने गरिन्छ ।

सूर्य अस्त पछि ब्रतालुहरु छठी माताको पारम्परिक गीत गाँउदै आ–आफनो घर फर्किने गर्छन् । कतिपय भने भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिन घाटमा नै सूर्य आराधना गर्दै जाग्राम बस्ने चलन पनि छ ।

सप्तमीको दिन भने उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व विधिवत रुपमा समापन हुन्छ । यस दिनलाइ परना भन्ने चलन छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  १९:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update