न्युज कारखाना
धनगढी, १९ फागुन
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २१ गते विश्वासको मत लिने भएका छन् ।
प्रदेश सभा सचिवालयका अनुसार मुख्यमन्त्री शाहले फागुन २१ गतेका लागि प्रदेश सभा बैठक आह्वान गर्न पत्र पठाएका छन् ।
उनले पठाएको पत्र अनुसार आइतबार दिउसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गर्ने तयारी भइरहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताए ।
‘मुख्यमन्त्री ज्यूले २१ गते विश्वासको मत प्रयोजनका लागि आवश्यक व्यवस्थापन गरिदिन भनेर सचिवालयलाई पत्राचार गर्नुभएको छ,’ प्रदेश सभामुख भीमबहादुर भण्डारीले भने, ‘त्यसै अनुसार तयारी गर्न सचिवालयलाई निर्देशन दिएको छु ।
सुदूरपश्चिममा मुख्यमन्त्रीलाई नेपाली काग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एकिकृत समाजबादी पार्टीले समर्थन गर्ने निश्चित रहेको छ । तीन दल संग प्रदेश सभामा ३४ प्रदेश सभा सदस्य रहेको छन् । प्रदेशमा मुख्यमन्त्रीले विश्वासाको मत पाउनका लागि २७ प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने छ ।
सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिएको नागरिक उन्मुक्ति पार्टीले पनि कांग्रेस नेतृतत्वको सरकारलाई विश्वासको मत दिने संकेत गरेको छ । नागरिक उन्मुक्ति पार्टीले समेत प्रदेश मुख्यमन्त्री शाहलाई विश्वासको मत दिएको अवस्थामा प्रदेश सरकारलाई दुई तीहाई समर्थन हुने छ ।
मुख्यमन्त्री बन्दा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि माघ २६ गते एमाले नेतृत्वमा बनेको राजेन्द्र सिंह रावल नेतृत्वको सरकार ढलेको थियो । रावलले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा कांग्रेस प्रदेश संसदीय दलका नेता कमल बहादुर शाह मुख्यमन्त्री बनेका थिए ।


