Birgunj News24

बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा वीरगञ्ज स्थित प्रसिद्ध गहवामाई मन्दिरमा फूलपाती भित्र्याइएको छ। फूलपाती भित्र्याएसँगै मन्दिरमा दसैँको विशेष पूजाआजा तथा धार्मिक गतिविधि बढेको छ।नवरात्रको सातौँ दिन आज नवदुर्गाको सातौँ स्वरूप देवी कालरात्रिको पूजा–आराधना गरिँदैछ। हिन्दू धर्मावलम्बीहरूले घरघरमा नवदुर्गाको पूजा गर्दै फूलपाती भित्र्याएर दसैँ मनाइरहेका छन्।

फूलपाती नेपाली हिन्दू संस्कृतिको महत्त्वपूर्ण परम्परा हो। यसलाई देवी दुर्गाको शक्ति, समृद्धि र मङ्गलको प्रतीकका रूपमा लिने गरिन्छ। परम्पराअनुसार फूलपातीमा केरा, बेसार, हलेदो, जयन्ती, बेल, अनार, अशोक, माने–कर्कलो र धानलगायत नौ प्रकारका वनस्पति तथा पत्रिका समावेश गरिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान ७ बजेर ३७ मिनेटको शुभ साइतमा फूलपाती भित्र्याउन सकिने जनाएको थियो। परम्पराअनुसार गोरखाबाट ल्याइएको फूलपाती काठमाडौँको हनुमानढोका दरबारस्थित दसैँघरमा विधिपूर्वक भित्र्याउने गरिन्छ। यस अवसरमा नेपाली सेना, सांस्कृतिक समूह तथा सर्वसाधारणको सहभागितामा विशेष समारोह आयोजना हुने गरेको छ।

आज कालरात्रि देवीको पूजा

नवरात्रको सातौँ दिन देवी कालरात्रिको पूजा–आराधना गरिन्छ। धार्मिक मान्यताअनुसार कालरात्रिलाई भय, अन्धकार र नकारात्मक शक्तिमाथि विजय प्राप्त गर्ने देवीका रूपमा पूजिन्छ। उनको स्वरूप उग्र देखिए पनि भक्तजनलाई शुभ फल प्रदान गर्ने देवीका रूपमा विश्वास गरिन्छ।

कालो वर्ण, तीन आँखा र चार हात भएकी देवी कालरात्रिको पूजा गर्नाले भयबाट मुक्ति, साहस, धैर्य र आत्मविश्वास प्राप्त हुने धार्मिक विश्वास छ। यस दिन देवीलाई सख्खर चढाउने परम्परा पनि रहेको छ।

सप्तमीका दिन दुर्गापूजाअन्तर्गत नवपत्रिकाको पूजा गर्ने चलनसमेत छ। विभिन्न वनस्पति तथा पूजासामग्री समावेश गरी गरिने यस पूजामा देवी दुर्गाको स्तुति र मन्त्र पाठ गरिन्छ।

देवी कालरात्रिको पूजाका क्रममा पाठ गरिने प्रमुख मन्त्र यसप्रकार छ :

ॐ जयन्ती मङ्गला काली भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते॥

फूलपाती र सप्तमी पूजाले दसैँको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई थप उजागर गर्ने गरेको छ। शक्ति, प्रकृति, समृद्धि र पारिवारिक एकताको प्रतीकका रूपमा मनाइने फूलपाती नेपाली मौलिक संस्कृतिको महत्त्वपूर्ण परम्परा हो।

प्रकाशित मिति: शनिबार, असोज ३१, २०८३  १९:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update