काठमाडौं,३१ असोजःजनआस्थाका पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ ।बालेन सरकार आएपछि श्रेष्ठको यो दोस्रो गिरफ्तारी हो । प्रहरीले पक्राउ गरेलगत्तै श्रेष्ठले आफूलाई साइबर ब्यूरो लैजाने जानकारी दिइएको बताए ।
श्रेष्ठ प्रधान सम्पादक रहेको जनआस्था साप्ताहिकले पन्तको परिवारमाथि धादिङको थाक्रे गाउँपालिका–१० का तिलकप्रसाद बिडारीको साढे ४ रोपनी जग्गा हडपेको आरोप लागेको समाचार लेखेको थियो । त्यसविरुद्ध पन्तले साइबर ब्युरोमा उजुरी दिएका थिए ।
पन्तले जाहेरी दिएपछि उनले सामाजिक सञ्जालमा आफूविरुद्ध गरेको टिप्पणीप्रति लक्षित गर्दै श्रेष्ठले समेत जाहेरी दिएका थिए ।
ब्युरोका एसपी दीपकराज अवस्थीले प्रहरीकहाँ आएको जाहेरीबारे छलफल गर्न दुवै पक्षलाई बोलाइएको बताए । ‘निवेदन दिएको दुवै पक्षलाई छलफलका लागि बोलाएका ल्याएका हौं, नियन्त्रणमा लिएको भन्ने होइन,’ उनले भने ।
यसअघि २७ साउनमा प्रहरीले समाचारकै विषयलाई लिएर पत्रकार श्रेष्ठलाई पक्राउ गरेको थियो । उनको घर र कार्यालयमा समेत खानतलासी गरेको थियो । पछि सर्वोच्च अदालतको आदेशमा उनी हिरासतमुक्त भएका थिए ।

