वीरगंज,३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साका नेता सुरेन्द्रप्रसाद चौधरी भने पराजित भएका छन् ।
केन्द्रीय सदस्यमा मधेसी खुलातर्फ पर्साका अनिलकुमार रुंगटा र अशर्फी साह निर्वाचित भएका छन् । सोही पदमा उम्मेदवारी दिएका रामरुपप्रसाद कुर्मी भने पराजित भएका छन् । कुर्मी यसअघि विशेष महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए
त्यसैगरी, खस आर्य कोटाबाट नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । मुस्लिम महिला कोटाबाट जमिला खातुन पनि केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।
यता, थारु कोटाबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिएका सुरेन्द्रप्रसाद चौधरीले भने जित हासिल गर्न सकेनन् । उनी यसअघि विशेष महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए ।
यसैबीच, पर्साका नेता अजय चौरसिया मधेसी कोटाबाट सहमहामन्त्रीमा निर्वाचित भएका छन् । कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीसमेत रहेका चौरसिया सहमहामन्त्रीमा निर्वाचित भएसँगै पर्साले पार्टीको केन्द्रीय कार्यसमितिमा एक पदाधिकारीसहित पाँच जना प्रतिनिधि पाएको छ ।
यसरी कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार नेता केन्द्रीय सदस्य र एक नेता सहमहामन्त्रीमा निर्वाचित हुँदा सहमहामन्त्रीका उम्मेदवार चौधरी र केन्द्रीय सदस्यका उम्मेदवार कुर्मी भने पराजित भएका छन् ।

