Birgunj News24
वीरगञ्जको मितेरी पुलमा लागूऔषध बरामद, दुई जना प्रहरीको नियन्त्रणमा।

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर वीरगञ्जबाट खटिएको डग स्क्वाड र बोर्डर इन्टरएक्सन टिम (बीआईटी) को संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका बारा विश्रामपुर गाउँपालिका–५, नर्कटुवाका १८ वर्षीय शेख सहजातलाई शंकाका आधारमा जाँच गरेको थियो।

जाँचका क्रममा उनले कुरकुरेको प्याकेटभित्र कालो प्लास्टिकमा लुकाइछिपाइ राखेको ४ ग्राम ८४० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

त्यसैगरी, सोही दिन मितेरी पुलमा खटिएको बीआईटी टोलीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका बारा बारागढी गाउँपालिका–३ का ४१ वर्षीय जमिल अख्तर मियाँलाई नियन्त्रणमा लिएको छ।

उनले बोकेको झोलामा लुकाइछिपाइ लैजाँदै गरेको ४ किलो ८५ ग्राम प्रतिबन्धित लागूऔषध गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

दुवै जनालाई बरामद लागूऔषध सहित आवश्यक कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय बिर्ता, पर्सामा बुझाइएको जनाइएको छ। घटनाबारे थप कानुनी प्रक्रिया अघि बढाइएको छ।

प्रकाशित मिति: मंगलबार, असोज २७, २०८३  १९:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update