वीरगञ्ज– लायन्स क्लब अफ वीरगञ्ज क्यापिटल र मध्य नेपाल प्रेसले भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेका छन्।
दुवै संस्थाले संयुक्त रूपमा सोमबार पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई राहत सामग्री हस्तान्तरण गरेका हुन्। बाढीबाट प्रभावित परिवारलाई लक्षित गरी १०० थान हाइजेनिक किट हस्तान्तरण गरिएको मध्य नेपालकी सम्पादक तथा लायन्स क्लब अफ वीरगञ्ज क्यापिटलकी अध्यक्ष कविता खड्काले जानकारी दिइन्।
उनका अनुसार हाइजेनिक किटमा विशेषगरी बाढी प्रभावित महिलाका लागि आवश्यक सेनिटरी प्याडसहित साबुन, मञ्जन, ब्रस, जीवनजल तथा औषधिलगायतका अत्यावश्यक सामग्री समावेश गरिएको छ।
बाढीपीडितलाई तत्काल आवश्यक पर्ने स्वास्थ्य तथा सरसफाइसम्बन्धी सामग्री उपलब्ध गराउने उद्देश्यले राहत सहयोग गरिएको आयोजक संस्थाले जनाएको छ।
राहत सामग्री बुझ्दै प्रमुख जिल्ला अधिकारी दाहालले प्राप्त सामग्री संकलन गरी प्रभावित क्षेत्रमा पठाउने तयारी भइरहेको बताए। उनका अनुसार गृह मन्त्रालयको निर्देशनअनुसार हाल प्रभावित क्षेत्रमा आवश्यक पर्ने राहत सामग्रीको सूची तयार गर्ने तथा विभिन्न संघसंस्था र निकायबाट सामग्री संकलन गर्ने कार्य भइरहेको छ।
संकलित राहत सामग्री गृह मन्त्रालयसँग आवश्यक समन्वय गरी बाढी प्रभावित क्षेत्रमा पठाइने दाहालले जानकारी दिए।


