वीरगञ्ज ५, आनन्द पटेल ।
गुरुद्वारा गुरुनानक सत्संग समिति पर्साले रसुवा, भोटेकोशी लगायतका क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको हो। विपदबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको समितिले जनाएको छ।
सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर समितिका पदाधिकारीहरूले रकम जम्मा गरिएको बैंक भौचर प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई हस्तान्तरण गरेका छन्। समितिका उपाध्यक्ष अजितपाल सिंह, सचिव रञ्जित सिंह र सदस्य जसप्रित सिंह ‘ज्याक’ले संयुक्त रूपमा भौचर हस्तान्तरण गरेका हुन्।
समितिका अध्यक्ष रमिन्द्र कौरले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सामाजिक संस्था तथा समुदायले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताइन्।
गुरुनानक सत्संग समिति तथा पर्साका शिख समुदायले यस अघि पनि भोटेकोशी लगायत बाढीपहिरो प्रभावित क्षेत्रमा प्रत्यक्ष पुगेर खाद्यान्न, जिन्सी सामग्री लगायत राहत सामग्री वितरण गरिसकेको जनाएको छ। विपद्का समयमा प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले समुदायले निरन्तर मानवीय सहयोग गर्दै आएको समितिले जनाएको छ।
सदस्य जसप्रित सिंहले विपद्बाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताए। उनले अन्य संघसंस्था, सामाजिक संगठन तथा समुदायलाई समेत विपद् प्रभावित परिवारको सहयोगका लागि आ–आफ्नो तर्फबाट योगदान गर्न आग्रह गरे।


