नेपाल भारतसँग सीमा जोडिएको रक्सौलस्थित प्राचीन सूर्य मन्दिर परिसरको पवित्र पोखरीबाट करिब ११ किलो तौलको विशाल कछुवा फेला परेपछि क्षेत्रमा व्यापक चर्चा र कौतुहलता बढेको छ।
सूर्य मन्दिरको जीर्णोद्धार तथा सौन्दर्यीकरण अन्तर्गत पोखरी सफाइ गर्ने क्रममा उक्त कछुवा फेला परेको हो। कछुवा देखिएपछि श्रद्धालु तथा स्थानीयवासीहरूको भीड लागेको सूर्य मन्दिर समितिका मिडिया प्रवक्ता एवं समाजसेवी रजनिश प्रियदर्शीले जानकारी दिए।
धेरै श्रद्धालुले बिहीबार फेला परेको उक्त कछुवालाई भगवान विष्णुको कूर्म अवतारसँग जोड्दै शुभ संकेतका रूपमा लिएका छन्। धार्मिक मान्यता अनुसार कछुवा धैर्यता, समृद्धि, स्थिरता तथा सकारात्मक ऊर्जाको प्रतीक मानिन्छ।
सूर्य मन्दिर समितिका सचिव शम्भु प्रसाद चौरसिया, कोषाध्यक्ष गणेश अग्रवाललगायत समितिका सदस्यहरूले आस्थाको केन्द्रमा यति ठूलो कछुवा भेटिनु प्रकृति र धार्मिक चेतनाको अद्भुत संगम भएको बताएका छन्।
पर्यावरणविद्हरूका अनुसार कछुवाले जलस्रोत संरक्षण तथा जैविक सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने गर्दछ। समितिले तालाबमा पूजा सामग्री तथा फोहोर नफाल्न सर्वसाधारणसँग आग्रह समेत गरेको छ।
मिडिया प्रवक्ता प्रियदर्शीका अनुसार विशाल कछुवाको उपस्थितिले “प्रकृति सुरक्षित रहेसम्म आस्था र जीवनको सन्तुलन कायम रहन्छ” भन्ने सन्देश दिएको छ।


