वीरगञ्ज, ६ कार्तिक । ५० लाख मूल्य बराबरको खाने तेल चोरी गरेर सस्तोमा बिक्री गर्ने ४ जनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको छ । बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ५ स्थिा मनोकामना आयल फुड प्रोसेसिङ् प्रा.ली. बहुअरीबाट प्रशोधित तेल चोरी गरेर कम मूल्यमा बिक्रि गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
१ लिटरको १४ हजार ५ सय ६० किलोग्राम र आधा लिटरको ५ हजार ९ सय १५ किलोग्राम तेल प्रदेश २–०३–००१ ख ४८१२ नम्बरको भाडाको ट्रकमा लोड गरेर अंजनी कैरियर वीरगञ्जमार्फत सिन्धुलीको रोबिन सप्लायर्स प्रा.ली. कमलामाईमा जान लागेको ट्रक सम्पर्कविहिन भएको थियो ।
नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर १ निवासी सुकमान तामाङ्गले चलाई लगेको तेल सम्बन्धित प्रा.ली.मा नलिएर सम्पर्कविहिन भएपछि खानेतेल खोजी गर्न आग्रह गर्दै मनोकामना आयल फुड प्रोसेसिङ् प्रा.ली.ले असोज ३० गते प्रहरीमा निवेदन दिएको थियो । प्रा.ली.ले दिएको निवेदनको आधारमा ट्रक चालक तामाङ्गलाई पक्राउ गरेर सोधपुछ गर्ने क्रममा त्यसमा संलग्न अन्य ४ जना पक्राउ परेका हुन् ।
अनुसन्धानको क्रममा रौतहटको गौर नगरपालिका वडा नम्बर १ स्थित रमेश कुमारले भण्डारण गरी राखेको अवस्थामा चोरीको चेलमध्ये ३ सय १७ कार्टुन तेल र १ सय ५९ वटा खाली कार्टुन बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ सिम्रौनगढ बजारमा उक्त ट्रक वेवारिसे अवस्थामा फेला परेको छ ।
नुवाकोटको शिवपुरी गाउँपालिका १ घर भई हाल काठमाण्डौ बस्ने ट्रक चालक ४३ वर्षीय सुकमान तामाङ्गसहित रौतहटको राजपुर नगरपालिका ६ घर भई हाल गौर १ बस्ने ३८ वर्षीय रमेश कुमार, रौतहटकै बृन्दावन नगरपालिका ६ हर्साहा बस्ने ३८ वर्षीय शेख कलाम र बृन्दावन नगरपालिका ८ बस्ने ४७ वर्षीय वैद्यनाथ साह तेलीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक बोगटीले बताए ।
प्रहरी उपरीक्षक बोगटीका अनुसार उनीहरुले ४९ लाख ४ सय १२ रुपैयाँको खाने तेल ३९ लाख २० हजार रुपैयाँमा बिक्रि गरेका थिए ।



