वीरगञ्ज, १२ फागुन । नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुबसिंह ठकुरीले समाजबाट लोकगीत लोप हुँदै गइरहेकोप्रति चिन्ता व्यक्त गरेका छन् । आधुनिकको नाममा विकृति भित्रिदै गएको र लोक गीत लोप हुँदै जानु दुखद विषय भएको अध्यक्ष ठकुरीको बुझाई छ ।
नेपाल भोजपुरी समाजले वीरगञ्जका विभिन्न सामुदायिक विद्यालयमा पुगी विद्यार्थीहरुलाई भोजपुरी भाषा र संस्कृतिका सम्बन्धमा प्रशिक्षण दिने अभियानअन्र्तगत शुक्रवार त्रिजुद्ध स्कुलका विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको छ । प्रशिक्षणका क्रममा त्रिजुद्ध माविका प्रधानाध्यापक हरेन्द्र कुर्मीले भोजपुरी मौलिक गीत लोप हुँदै गएको हुँदा संरक्षण र जगेर्ना गर्नुपर्नेमा जोड दिए ।
साथै उनले भोजपुरी गीतमा अश्लिलता भित्रिएर समाजमा बिकृति फैलिएकोप्रति आपत्ती जनाए । केही व्यक्तिका कारण भोजपुरी जस्तो पवित्र भाषामा अश्लिलता मिसाएर समाजमा अराजकता फैलाउनेहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्ने प्रधानाध्यापक कुर्मीको भनाई छ ।
भोजपुरी भाषा, कला र संस्कृतीका सम्बन्धमा समाजका सचिव राजेन्द्र सिंह राजपुतले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणमा त्रिजुद्ध माविका शिक्षक सरोज पटेल, रबी चौरसिया, नेपाल भोजपुरी समाजका सल्लाहकार मनोज कुमार मिश्रा, उपाध्यक्ष ऋतुराज पटेल, सञ्चारकर्मी राजकुमार सर्राफ लगायतको उपस्थिती रहेको थियो ।



