Birgunj News24
सांसद यादवले गरे रामजानकी मन्दिरको उद्घाटन  

वीरगञ्ज, १२ फागुन ।  धार्मिक सहिष्णुता कायम भएपछि मात्रै समाज सही दिशामा अग्रसर हुने पर्सा क्षेत्र नम्बर १ का निर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप यादवको बुझाई छ । सबै धर्मको लक्ष्य समाजमा शान्ति स्थापना गर्ने र संस्कार सिकाउने भएको हुँदा धर्मलाई लिएर मनमुटाव तथा बैमनस्यता गर्न नहुने पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका यादवले सुझाव दिएका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ राधेमाईस्थित मठमा निर्मित राम जानकी मन्दिरको प्राणप्रतिष्ठान एवम् उद्घाटन गर्दै सांसद यादवले धार्मिक स्थलहरुको संरक्षण गरेर धार्मिक पर्यटनको प्रबद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् । मन्दिरको संरक्षण गर्दै आगामी दिनमा थप बजेट ल्याएर अझै परिस्कृत र विस्तार गर्ने पनि यादवको योजना छ । 

सांसद यादवकै संसदीय विकास कोषको ३५ लाख रकमसँगै स्थानीको सहयोगमा निर्मित मन्दिरको शुक्रवार एक कार्यक्रमका बिच उद्घाटन तथा प्राणप्रतिष्ठान गरिएको हो । मठका अध्यक्ष बिनोद मण्डलका अनुसार पहिलादेखि मन्दिरको निर्माण थालनी गरिएपनि अव्यवस्थित र अधुरो थियो । सांसद यादवले आफ्नो संसदीय विकास कोषबाट रकम उपलब्ध गराएसँगै मन्दिरलाई थप व्यवस्थित  बनाइएको अध्यक्ष मण्डलले बताए । 

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले महानगर पनि धार्मिक सम्पदाको संरक्षण र सौन्दर्यकरणका कामलाई अघि बढाएको जानकारी दिए । मेयर सिंहका अनुसार वीरगञ्जका पिपरा मठ, लक्ष्मणवा पार्क, गहवामाई मन्दिर लगायतका धार्मिक सम्पदाको संरक्षणका क्षेत्रमा महानगरले काम गरीरहेको छ ।

वीरगञ्जको चिनिमिलस्थित पशुपति मन्दिरलाई पनि सौन्दर्यकरण गरेर धार्मिक पर्यटनको प्रवद्र्धन गर्ने काम महानगरको प्राथमिकतामा रहेको मेयर सिंहको भनाई छ । मन्दिरको प्राणप्रतिष्ठान एवम् उद्घाटन कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष अजय चौरसिया, वडा नम्बर १३ का वडाअध्यक्ष हिरा गिरी लगायतको उपस्थिती रहेको थियो । 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १८:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update