वीरगञ्ज, ११ फागुन । वीरगञ्जमा जारी मेयर ईन्टर स्कुल फुटबल टुर्नामेन्ट २०७९ को फाइनलमा वीरगञ्जको मुनलाईट मावि प्रवेश गरेको छ ।
वीरगञ्जको आदर्शनगर रंगशालामा आज भएको सेमिफाइनल खेलमा विद्या सदन माविलाई ट्राई ब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै मुनलाईट माविले उपाधिका लागि साउथ जोन माविसँगको भिडन्त पक्का गरेको हो ।
निर्धारित ९० मिनेटमा दुवै टिमले गोल गर्न नसकेपछि खेल ट्राईब्रेकरमा धकेलिएको आयोजक भेट्रान्स सिटी क्लबका सदस्य सदाम हुसैनले जानकारी दिए ।
ट्राईब्रेकरमा मुनलाईट माविले ४ गोल गरेर २ गोलले विद्या सदन माविलाई पराजित गरेको हो ।
उक्त खेलमा मुनलाईट माविकै विशाल चौरसिया प्लेयर अफ दी म्याच घोषित भएको मुनलाईट माविका प्रबन्ध निर्देशक सुलभ केसीले जानकारी दिए । मुनलाईट माविले पढाईसँगै खेललाई पनि प्राथमिकता दिएको प्रतिफलस्वरुप नै आफ्नो स्कुल फाइनलमा पुग्न सफल भएको केसीले बताए ।
यसअघि आजै भएको पहिलो सेमिफाइनल खेलमा नृसिंह मावि पिपरालाई पराजित गर्दै साउथ जोन मावि फाइनलमा प्रवेश गरीसकेको छ ।
निर्धारित ९० मिनेटको खेलमा साउथ जोन र नृसिंहले १–१ को बराबरी खेलेका थिए । पेनाल्टी सुटआउटमा साउथ जोनले नृसिंहलाई ४–१ गोल अन्तरले पराजित गरेको थियो ।
उपाधिका लागि साउथ जोन मावि र मुनलाईट माविबिचको प्रतिस्पर्धा रोचक हुने साउथ जोन माविका सहायक प्रधानाध्यापक अशोक संग्रौलको विश्वास छ ।



