Birgunj News24
ढाकामा शृंखलाबद्ध बम विस्फोट र आगजनी, सहर उच्च सतर्कतामा।

ढाका (बंगलादेश), कार्तिक २६।
बंगलादेशको राजधानी ढाकामा मंगलबार बिहानदेखि लगातार भएका शृंखलाबद्ध बम विस्फोट र आगजनीका घटनापछि सहर उच्च सतर्कतामा राखिएको छ।
स्थानीय सञ्चारमाध्यम द डेली स्टार का अनुसार सार्वजनिक यातायात, धार्मिक स्थल र सरकारी कार्यालयहरूलाई लक्षित गरी बम विस्फोट र आगजनी गरिएका छन्। यी घटनाले सम्पूर्ण सहर आतंकित बनेको छ।
ढाका प्रहरीले ११ वटा फरक–फरक स्थानमा विस्फोट भएका पुष्टि गरेको छ। ती सबै विस्फोटमा घरेलु तरिकाले तयार पारिएका ‘क्रुड बम’ प्रयोग गरिएको जनाइएको छ।
मंगलबार बिहान ३:४५ बजे अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले स्थापना गरेको ग्रामीण बैंकको मुख्यालय अगाडि पहिलो विस्फोट भएको बताइएको छ। त्यतिबेला दुई जना व्यक्ति मोटरसाइकलमा आएका र बम फ्याँकेर फरार भएका थिए।
त्यसपछि बिहानै माछा तथा पशुपालन सल्लाहकार फरिदा अख्तरसँग सम्बन्धित व्यवसायिक संस्था प्रवर्तन मा अर्को बम आक्रमण भएको थियो। बिहान साढे सात बजे धानमण्डीस्थित इब्न सिन्हा अस्पताल र मिडास सेन्टर वरपर चार वटा बम प्रहार गरिएका थिए।
दिनभर तीन वटा सार्वजनिक बसमा पनि आगजनी गरिएका घटना दर्ता भएका छन्। यी घटनापछि ढाका प्रहरीले सहरका प्रमुख स्थानमा सुरक्षा कडा बनाएको र उच्च सतर्कता अपनाइएको जनाएको छ।  सभार :- द डेलि स्टार 

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update