वीरगञ्ज, १९ माघ । पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पर्सा जिल्लावासीको शान्ति सुरक्षा तथा अमनचैन कायम राख्न कुनै कसर बाँकी नराख्ने बताएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै रेग्मीले वीरगञ्ज आर्थिक नगर भएकोले यसको महत्व र उपादेयतालाई मध्यनजर गर्दै सोही अनुरुपको सुरक्षा व्यवस्था मिलाउने बताए ।
पर्सा जिल्लामा सरकारी कार्यालयहरु लगायत सम्पूर्ण सेवाहरुको सुशासनको प्रबद्र्धन गरिने, जिल्लाको शान्ति सुरक्षा, सिमावर्ती लगायतका क्षेत्रहरुमा गैरकानूनी आर्थिक क्रियाकलापको नियन्त्रण तथा विकास निर्माणको क्षेत्रमा भइरहेको ढिलाई न्यून गरेर विकास निर्माणको काम तिव्र रुपमा अघि बढाउन सम्बद्ध पक्षलाई निर्देशन दिने रेग्मीको भनाई छ ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले सङ्घको ऐतिहासिक पृष्ठभूमि, यस क्षेत्रको बढ्दो आर्थिक महत्व र प्रशस्त सम्भावनाका बारेमा प्रकाश पार्दै यस क्षेत्रका चुनौती तथा उद्योगी व्यवसायीहरुले भोगिरहेका समस्याका बारेमा चर्चा गरेका थिए ।
वीरगञ्ज लगायतका क्षेत्रमा कायम रहेको शान्ति सु–व्यवस्थालाई अझ प्रभावकारी बनाउनुपर्ने, सिमा सुरक्षा सम्बन्धी बैठक नियमित रुपमा हुनुपर्ने बताउँदै वीरगञ्जमा बस्ने बाहिरी व्यक्तिहरुको विवरण संकलन गरी डाटाबेस तयार गर्नुपर्ने, सिसिटिभी परियोजनाको लागि बजेट विनियोजन गर्नुपर्ने लगायतका सम्बन्धमा अध्यक्ष डा. गुप्ताले रेग्मीको ध्यानाकर्षण गराए ।
आर्थिक क्रियाकलाप बढी हुने र खुल्ला नाका भएकोले आपराधिक गतिविधि सोही अनुपातमा हुन सक्ने भएकोले सोही अनुरुपको सुरक्षा व्यवस्थाको प्रबन्धको लागि गुप्ताले सचेत पनि गराएका छन् ।
कार्यक्रममा पूर्व अध्यक्ष अशोक बैद्य, उपाध्यक्ष माधव राजपाल, कार्यसमिति सदस्य शिवजी प्रसाद कलवार, निरज अग्रवाल, मुर्लीधर जलानले पर्साको बिभिन्न क्षेत्रसँग सम्बन्धीत बिषयहरुमा आ–आफ्ना धारणा राखेका थिए ।
उपाध्यक्ष हरि गौतमले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण महासचिव मनोज दासले गरेका थिए ।



