Birgunj News24
बारा प्रहरीद्वारा एकैदिन ३३२ जना फरार प्रतिवादी पक्राउ 

वीरगञ्ज, ११ माघ ।  अदालतबाट दोषी ठहर भई विभिन्न अपराधमा संलग्न रहेका ३ सय ३२ जना फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको छ । 

बारा जिल्ला अदालतबाट विगो, जरिवाना, कैद फैसला भई फरार रहेका ३३२ जना प्रतिवादीलाई पक्राउ गरि कारबाहीका लागि अदालतको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख होबिन्द्र बोगटीले बताए ।

जसमध्ये ३६ जनालाई कैद भुक्तानका लागि वीरगञ्ज कारागार चलान गरिएको छ भने बाँकीले विगो, जरिवाना भुक्तानी गरेर घर फर्किएको प्रहरीले जनाएको छ ।

विगो, जरिवाना तथा कैद असुलउपर गर्न बाँकी रहेका कर्तव्य ज्यान, जबर्जस्ती करणी, लागुऔषध लगायत जघन्य तथा बहुविवाह, चेक अनादर, अंशबण्डा, सम्बन्ध विच्छेद, कुटपिटलगायत मुद्दामा दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बैंकिङ कसुर ठगी मुद्धामा ६ वर्ष ५ महिना १० दिन सजाय पाएका कलैया १ बस्ने विजय दास, हातहतियार तथा खरखजना मुद्दामा २ वर्ष ११ महिना ६ दिन कैद सजाय पाएका निजगढका बन्सु चौधरी, बैङ्किङ कसुर मुद्दामा ७ लाख जरिवाना फैसला पछि फरार सिम्रौनगढका तेजाजुल अन्सारी लगायत पक्राउ परेका हुन् ।

अदालतबाट कैद तथा जरिवाना तोकिएको व्यक्ति समाजमा रहँदा शान्ति सुरक्षामा चुनौती आउने, अपराध गरेपछि पनि समाजमा खुलेआम घुँमिरहँदा समाजमा नराम्रो सन्देश जाने, अपराधीहरुको मनोबल बढेर थप अपराध गर्न प्रोत्साहित हुने हुँदा फरार प्रतिवादीलाई कानुनी दायरामा ल्याउन अभियान सञ्चालन गरिएको प्रहरी प्रमुख बोगटीले बताए ।

अपराध गरेर गाउँ समाजमा खुला रुपमा हिँडडुल गरिरहेका प्रतिवादीहरुलाई विशेष अभियान नै सञ्चालन गरेर पक्राउ गरिएको प्रहरीको भनाई छ 

उनले फरार प्रतिवादीहरुलाई पक्राउ गर्दा सामाजमा सकारात्मक सन्देश जानुको साथै फैसला कार्यान्वयनमा समेत सघाउ पुग्ने बताए । यसअघि आफू स्याङ्जामा प्रहरी प्रमुख हुँदा एकैदिन १११ जना फरार अभियुक्तलाई समातेको स्मरण गर्दै उनले बाराबाट अझै बढी अभियुक्त पक्राउ गर्न सफल भएको बताए ।

फरार प्रतिवादी पक्राउ गर्नका लागि बारामा रहेका ५१ वटै युनिटबाट प्रहरी परिचालन गरिएको थियो । १५ दिन अघिबाट निगरानी गरेर आईतबार र सोमबार उनीहरुलाई पक्राउ गरिएको थियो । कलैयास्थित जिल्ला प्रहरी कार्यालयबाट २० जना, सिमरा, निजगढ, कोल्हबी, सिम्रौनगढ, बारागढी लगायतका १० वटा ईलाका प्रहरी कार्यालयबाट १०/१० जना र अन्य युनिटहरुबाट समेत प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए ।

फैसला कार्यान्वयनमा सघाउन आग्रह गर्दै बारा जिल्ला अदालतले १ हजार ३ सय ५७ जना फरार प्रतिवादीको लिष्ट प्रहरीलाई पठाएको थियो ।
 

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १५:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update