वीरगञ्ज, २ माघ । विशेष गरी थारु समुदायले मनाउने माघी वीरगञ्जमा भने सबै समुदायको सहभागितामा पृथक तरिकाले मनाइएको छ । माघी मूल समारोह समितिको आयोजनामा वीरगञ्जको आदर्शनगरस्थित पूरानो बसपार्कमा भब्य कार्यक्रमका बिच सबै समुदायको सहभागितामा माघी मनाइएको हो ।
थारु, भोजपुरी, मैथिली, नेवारी र मारवाडी समुदायको चाडवाडमा बनाइने खानाका परिकारहरु र रितिरिवाज तथा संस्कृति झल्किने सामाग्रीको प्रदर्शनीले यस वर्षको माघी अरु वर्षको तुलनामा विशेष भएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ताले बताए ।
मारवाडी समुदायको संस्कारको बारेमा प्रकाश पार्दै समाजसेवी एवम् महिला उद्यमी नुतन सरावगी भन्छिन्, ‘यो शल बिहेमा प्रयोग गरिन्छ, बेहुलीले बिहेमा लगाएको यो शल डेढ वर्षसम्म फेर्न मिल्दैन, हरेक किसिमका चाडवाडहरुमा यही ओढ्नुपर्छ ।’

माघी महोत्सवमा थारु, भोजपुरी, मैथीली , मारवाडी र नेवार समुदायका खानाका परिकारहरुको स्टल राखिएको थियो ।
थारु समुदायको स्टलमा घोङगी, गंगटा, माछा, हाँस, परेवा र कुखुराको मासुका परिकार राखिएको थियो भने भोजपुरी समुदायको स्टलमा तिल र भुजाको लड्डु, मैथीलीको स्टलमा खिंचडी, नेवारको स्टलमा यमरी लगायतका परिकार राखिएका थिए ।
खानाको परिकारको स्टल नजिकै खरको छाप्रो बनाएर त्यसमा यी पाँच वटै समुदायको परम्परा झल्किने गरि पोशाक, घरमा प्रयोग हुने सामान, जिविकोपार्जनका साधनहरु प्रर्दशनीमा राख्नुले महोत्सवलाई झनै आकर्षक बनाएको थियो ।
समारोहमा थारु , भोजपुरी , मैथीली , मारवाडी र नेवार समुदायका कलाकारले आ आफनो समुदायका लोकसंस्कृति झल्किने पोशाक लगाएर नृत्य पनि प्रस्तुत गरेका थिए । महोत्सव स्थलमै रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको थियो ।

माघी पर्व प्रति हरेक समुदायको आस्था भएका कारण सबै समुदायको सहभागीतामा मनाएर सबैको साझा पर्वको रुपमा सन्देश दिने अभिप्रायले कार्यक्रम गरिएको कार्यक्रम संयोजक रामसुन्दर चौधरीले बताए ।

समाजसेवी लक्ष्मी चौधरीको प्रमुख आतिथ्यता एंव रामसुन्दर चौधरीको संयोजकत्वमा आयोजित समारोहमा प्रदेशसभा सदस्य देवनारायण चौधरी, मधेश विश्व विद्यालयका उपकुलपति प्रा.डा. दिपक शाक्य, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध गुप्ता, सामाजिक अभियन्ता प्रकाश थारुसँगै पर्सा, बाराका थारु समुदायका अगुवाका साथै सामाजिक अभियन्ता, राजनीतिक दलका प्रतिनिधी, संघसंस्थाका प्रतिनिधी लगायतको पनि सहभागीता थियो ।
कार्यक्रमको सहजीकरण बिजया ओझैया र दिपेन्द्र चौधरीले गरेका थिए ।




