वीरगञ्ज, १ माघ । स्वर्गीय गोपाल गिरी स्मृति क्रियाशिल पत्रकारीता पुरस्कार वीरगञ्जका पत्रकार महेश दासलाई प्रदान गरिएको छ ।
वीरगञ्जका पूर्वमेयर एवम् पत्रकार स्वर्गीय गोपाल गिरिको स्मृतिमा नेपाल पत्रकार महासंघ पर्सा शाखाले स्थापना गरेको पुरस्कार दासलाई प्रदान गरिएको हो ।
आइतबार बिहान नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजित कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले दासलाई पुरस्कार प्रदान गरेका हुन् ।
गत पुस १९ मा बसेको पत्रकार महासंघ पर्साको बैठकले लामो समयदेखि वीरगन्जलाई कार्यक्षेत्र बनाएर पत्रकारीता गर्दै आएका दासलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । पुरस्कृत दास वीरगञ्ज महानगरका मेयर सिंहका प्रेस सल्लाहकार पनि हुन् ।
पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा आयोजित पुरस्कार वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, स्वर्गीय गोपाल गिरीका छोरा एवम् राप्रपा नेता गिरिश गिरि, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, पत्रकार सुदर्शनराज पाण्डे लगायतको पनि उपस्थिती थियो ।
पुरस्कारबाट यसअघि पत्रकारहर गया यादव, शत्रुघन नेपाल, केसी लामिछाने, महेशचन्द्र गौतम, श्याम बन्जारा, ओमप्रकाश खनाल, ध्रुव साह, तुलसी भण्डारी, प्रताप श्रेष्ठ लगायत पुरस्कृत भइसकेका छन् ।



