वीरगञ्ज, २५ पुष । कक्षामा राम्रो अङ्क ल्याएर अब्बल आएको भन्दै वीरगञ्जमा चार बालकले आफ्नै साथीको अपरहण गरेको खुलेको छ । वीरगञ्जस्थित एक सामूदायिक विद्यालयमा अध्ययनरत वीरगञ्ज–१६ इनर्वा गाउँ निवासी १६ वर्षीय बालकलाई उनिसँगै १० कक्षामा पढ्ने चारजना सहपाठीहरुले अपहरण गरेको खुलेको हो ।
अपरहण गर्ने चारैजनालाई पर्सा प्रहरीले पक्राउ गरेर अपहरण तथा शरीर बन्धक कसूरमा पर्सा जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अगाडि बढाएको छ । बालकलाई शनिबार बिहान आफ्नै घरको आँगनको कलमा हात, मुख धोइरहेको अवस्थामा उनका साथीहरुले कम्बलले छोपेर अपहरण गरेको अनुसन्धानबाट खुल्न आएको पर्सा प्रहरीले जनाएको छ ।
पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक गिरीका अनुसार शनिबार बिहान सबेरै उठेर पढ्नका लागि आफ्नो घरको आँगनमै रहेको चापाकलमा हात, मुख धोइरहेको अवस्थामा बालकलाई चारैजना साथीहरुले मिलेर कम्बलले छोपेपछि मुखमा कपडा कोचेर बोल्न कराउन नदिने गरि बनाएर घरबाट लगभग ३ सय मिटर टाढा सुनसान खाली चौरमा लागि केबलको कालो तारले मुखको कपडा नखुस्किने गरी बाधेर खुट्टा र दुवै हात पछाडि फर्काएर बाँधेर छोडेका थिए ।
बालक हराइरहेको थाह पाएपछि उनका अभिभावकले प्रहरीलाई शनिबार बिहान साढे ६ बजे खबर गरेका थिए । खबर पाएलगतै वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विशाल मल्लको नेतृत्वमा खटेको टोलीले बालकको खोजतलास सुरु गरेको थियो । खोजतलास सुरु गरेको आधा घण्टा भित्रै ७ बजेको करिबमा इन्स्पेक्टर मल्लको टोलीले अपहरित बालकलाई खोजेको थियो ।
बालकको उद्धार पश्चात उनिसँग गरिएको सोधपुछको आधारमा प्रहरीले अपरहणमा संलग्न चारैजनालाई पक्राउ गरेको इन्स्पेक्टर मल्लले जानकारी दिए । मल्लका अनुसार चारैजनाले गत मङ्सिर २८ गते पनि बालकलाई विद्यालय विदा पछि कुटपिट गरेका थिए । ‘अनुसन्धान गर्दै जाँदा बालक मेहेनती रहेको र कक्षामा सधै प्रथम आउने भएको हुँदा रिस र डाहको कारण उनकै साथीहरुले अपहरण गरेका रहेछन्,’मल्लले भने ।
प्रहरीले घटनास्थलबाट रूमाल, केवलको कालो तारका टुक्राहरू, पञ्जा, गलबन्दी र कम्बल बरामद गरेको छ ।



