वीरगञ्ज, २४ पुष । वीरगञ्ज पब्लिक कलेज (बिपिसी) द्वारा आयोजित खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । पुष १२ गतेदेखि शुरु भएको आउटडोर तथा इन्डोर खेलसहित विभिन्न सांस्कृतिक कार्यक्रम आइतवार सम्पन्न भएको हो ।
क्याम्पस प्रमुख डा. बिनय श्रेष्ठको अध्यक्षतामा समापन समारोह सम्पन्न भएको हो । कलेजले हरेक वर्ष पुष महिनाको दोस्रो हप्तादेखि आयोजना गर्ने विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमका बिजयीहरुलाई आज समापन समारोहका बिच पुरस्कृत गरिएको छ ।
क्रिकेट, फुटबल, बास्केट बल, कबड्डी, चित्रकला, वक्तृत्वकला, गायन, नृत्य लगायतका १६ वटा प्रतियोगितामा ७ सय ६० जना विद्यार्थीको प्रत्यक्ष सहभागिता रहेको थियो भने प्रविणता प्रमाण पत्र तहमा अध्ययनरत विद्यार्थीदेखि स्नातकोत्तरसम्म अध्ययनरत ३ हजार विद्यार्थीको अप्रत्यक्ष रुपमा सहभागिता रहेको थियो ।
विद्यार्थीहरुको पढाईसँगै सर्वाङ्गीन विकासका लागि टेवा पुग्ने अभिप्रायले हरेक वर्ष अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई सहभागि बनाउने गरिएको कलेजका संयोजक बासुदेव कर्णले बताए ।
समापन समारोहलाई सम्बोधन गर्दै कलेजका संस्थापक प्रबन्ध निर्देशक एवम् मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्यले अतिरिक्त क्रियाकलापले विद्यार्थीहरुको व्यक्तित्व विकाससँगै क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांगितीक प्रस्तुतीसमेत प्रस्तुत गरेका थिए । समापन समारोहलाई डा. बिशम्भर शर्मा, डा. सुष्मा तिवारी लगायतले सम्बोधन गरेका थिए ।



