वीरगञ्ज, २४ पुष । नेशनल ईन्फोटेक कलेजले त्रिजुद्ध माविलाई १ सय २९ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
वीरगञ्जस्थित नारायणी रंगशालामा जारी नेशनल ईन्फोटेक कपअन्र्तगत आज भएको दोस्रो खेलमा नेशनल ईन्फोटेक कलेज फराकिलो अन्तरले बिजयी भएको हो ।
टस जितेर ब्याटिंग रोजेको नेशनल ईन्फोटेक कलेजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९६ रनको योगफल तयार पारेको थियो । नेशनल ईन्फोटेकका सफवन अंसारी ४ रनले शतक बनाउन चुकेपछि उत्कृष्ट प्रदर्शन गरे । उनले ६१ बलमा ८ चौका र ५ छक्का प्रहार गर्दै ९६ रन बनाए । आदर्शअनुप साहले ३३ रन बनाउँदा राहुल हकले २१ रन जोडे ।
बलींगतर्फ त्रिजुद्ध माविका कृष्ण पण्डित, सुमित राउत कुर्मी र मोहमद अलीले १÷१ विकेट लिए । १ सय ९७ रनको लक्ष्य त्रिजुद्ध माविले भेटाउन सकेन । त्रिजुद्ध १६ ओभरमै सबै बिकेट गुमाएर ६७ रनमै समेटियो ।
त्रिजुद्धका सुमित राउत कुर्मीले २० रन बनाए । त्रिजुद्धलाई सस्तैमा समेट्न अर्वाज अंसारीले ४ ओभरमा ११ रन खर्र्चीएर ४ विकेट लिए । ४ ओभर बलींग गरेका रन्जीत कुमारले १ मेडन ओभर बनाउँदै ६ रन खर्चीएर ३ विकेट लिए । वासिम अली मंसुरीले २ विकेट लिए भने शेख अबुबाकरले १ विकेट लिए ।
प्रतियोगितामा नेशनल ईन्फोटेक कलेजका सफवन अंसारी प्लेयर अफ दी म्याच घोषित भएको नेशनल ईन्फोटेक कलेजका प्रबन्ध निर्देशक मनिष सिंहले जानकारी दिए ।
योसँगै नेशनल ईन्फोटेक कलेजले लगातार चौथो खेलमा जित निकालेको छ ।



