Birgunj News24
वीरगञ्जका विद्यालयमा पुष २६ गतेसम्म विदा

वीरगञ्ज, २३ पुष ।  अत्यधिक चिसो बढेसँगै वीरगञ्ज महानगरपालिकाले विद्यालय विदाको अवधी लम्ब्याएको छ । यसअघि महानगरपालिकाले १९ गते एक सूचना जारी गर्दै पुष २२ गतेसम्म विद्यालय बन्द हुने जानकारी दिएपनि चिसो झनझन बढ्दै गएपछि महानगरले विदाको अवधी थप गरेको हो । 

शनिवार महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले एक सूचना सार्वजनिक गर्दै विदाको अवधी पुष २६ गतेसम्म थपिएको जानकारी गराएको छ । योसँगै अब यहाँका सामुदायिक एवम् संस्थागत विद्यालयहरु पुष २६ गतेसम्म बन्द हुने महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख अर्विन्दलाल कर्णले जानकारी दिए । 

केही दिन यता चिसो तथा शितलहर लगातार बढीरहेको छ । चिसो मौसमका कारण बालबालिकाहरुलाई पठनपाठनमा कठीनाई हुनुका साथै विद्यालय आवतजावतमा पनि असहज हुने अवस्थालाई मध्यनजर गर्दै विदाको अवधी थपिएको महानगर प्रमुख राजेशमान सिंहले बताए ।

अहिले पछिल्लो समय थपिएको मितिसम्म पनि चिसो कम नभए फेरी पनि विदाको अवधी बढाउन सकिने बताउँदै उनले यो विदा हिउँदे बिदाबाट मिलान गरिने पनि जानकारी गराए । 
 

प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  १५:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update