Birgunj News24
वर्तमान पार्टीहरु सत्ता र कुर्सीका लागि केन्द्रीत भएको प्रभु साहको आरोप

वीरगञ्ज, २२ पुष । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले देश र जनताभन्दा पनि सत्ता र कुर्सीका लागि वर्तमान पार्टीहरु केन्द्रीत भएको आरोप लगाएका छन् ।

विगतमा देश, जनता र परिवर्तनका लागि लड्ने पार्टीहरु सत्ता मोहका लागि प्रदुषित भएको आरोप अध्यक्ष साहको छ । वीरगञ्जमा शुक्रवार आयोजित आम जनता पार्टीको मधेश प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले अग्रगमन र देश तथा जनताको हितलाई मध्यनजर गर्दै नयाँ पार्टीको शुरुवात गर्न बाध्य भएको बताए ।

अहिलेको संसदीय व्यवस्थाले परिवर्तन सम्भव नहुने जिकिर गर्दै रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यसमेत रहेका साहले अहिलेको संसदीय तथा शासकीय व्यवस्थाले नेपालमा स्थिरता सम्भव नहुने दावी गरे । उनले भने, ‘अहिलेको शासन प्रणाली तथा संसदीय व्यवस्थाले नेपालको स्थिरता सम्भव छैन । मिश्रित निर्वाचन प्रणालीबाट संसदको निर्वाचन हुने र संसदको बहुमतले प्रधानमन्त्री बनाउने व्यवस्था नै अस्थिरताको प्रमुख कारण हो ।’

भुगोल र जनसंख्याको हिसावले पनि सानो रहेको देश नेपालमा ७ सय ६१ वटा सरकार रहेको बताउँदै उनले अधिकांश स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु कानुनबाट अनभिज्ञ रहेको टिप्पणी गरे । सबै सरकारले बनाएका आ–आफ्नै कानुन र ऐनहरु न्याधिशले समेत पढेर नसकिने हुँदा यो व्यवस्था अनुकुल नभएको बुझाई साहको छ ।

उनले थपे, ‘एउटा सरकारले पनि कम्तीमा १ सय वटा कानुन बनाउँदा ७ सय ६१ वटा सरकारले बनाउने कानुन पढ्न र बुझ्नै नसकिने साहले बताए । जनताले प्रत्याभूत गर्ने किसिमको शासन नभएर अहिले पनि राजतन्त्रात्मक व्यवस्था जस्तै शासकले नै समानुपातिक आरक्षण पाएकोप्रति साहले आपत्ती जनाएका छन् ।

उनले भने, ‘शासक जातीको आरक्षण कहीँ पनि हुँदैन, तर नेपालमा खस आर्यलाई समानुपातिक आरक्षण दिइन्छ । समानुपातिक भनेको राज्यको नीति निर्माण तहमा पुग्न नसक्ने समुदायलाई प्रतिनिधित्व गराउने व्यवस्था हो, तर यहाँ यसको दुरुपयोग भइरहेको छ ।’  
 

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update