Birgunj News24
रानीघाटका गोदाममा प्रहरीको छापा, १३ लाख बराबरको चामल बरामद 

वीरगञ्ज, २० पुष ।  वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ रानीघाटस्थित ३ वटा गोदाममा छापा मारी प्रहरीले ठूलो परिमाणमा चामल बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय बिर्ता र वडा प्रहरी कार्यालय श्रीपुरको सयुँक्त टोलीले खाद्यान्न व्यापारीहरु देवशरण साह, कृष्ण साह र नेपाली बाबु भनिने सुनिल साहको गोदाममा बुधबार प्रहरीले छापा मारेको हो । 

छापा मारीका क्रममा भन्सार छलीका १३ लाख मूल्य बराबरको चामल बरामद गरेको छ जसमा भन्सार छली गरे ल्याइएका २० र २४ किलो दरका ९ सय १९ बोरा चामल बरामद गरेको वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्लले जानकारी दिए । 

देवशरणको गोदामबाट ३ सय ६५, कृष्णको गोदामबाट १ सय ३६ र सुनिलक ो गोदामबाट ४ सय २७ बोरा चामल बरामद गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक डिल्लीराज सापकोटाले बताए । 

बरामद गरिएका चामलको मूल्य अन्दाजी मूल्य १३ लाख रुपैयाँ कायम गरेर आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए । 

प्रवक्ता गिरीका अनुसार कतरनी, जिरामसिनो र बासमती चामल ९ सय १९ बोरा बरामद गरिएको छ । गोदाम सञ्चालकहरुले चामलको बिल देखाउन नसकेपछि बरामद गरेर भनसार पठाइएको गिरीले बताए । 

यसअघि पनि प्रहरीले रानिघाटकै ३ गोदाममा छापा मारी ठूलो परिमाणमा चामल बरामद गरेको थियो । 
 

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १८:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update