वीरगञ्ज, १७ पुष । त्रिजुद्ध माविलाई २ विकेटले पराजित गर्दै इम्पेरियल कलेज विजयी भएको छ । वीरगञ्जस्थित नारायणी रंगशालामा जारी नेशनल ईन्फोटेक कपअन्र्तगत आइतवार भएको दोस्रो खेलमा त्रिजुद्ध माविलाई पराजित गर्दै इम्पेरियल कलेज विजयी भएको हो ।
टस जितेर ब्याटिंग रोजेको त्रिजुद्ध स्कुलले १९ ओभर १ बलमै सबै बिकेट गुमाएर १ सय २५ रन बनाएको थियो । त्रिजुद्धका लागि मोहम्मद अलीले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक कटाए । उनले ५७ बलमा ७ चौका प्रहार गर्दै ५२ रन जोडे ।
त्रिजुद्धलाई १ सय २५ रनमै समेट्न इम्पेरियल कलेजका बिकास प्रसाद पटेलले ४ विकेट लिए । ४ ओभरमा १४ रन खर्चिएर पटेलले ४ विकेट लिँदा एमडी जैबुल्लाहले ३ ओभर बलीङ्ग गर्दै २८ रन खर्चीएर ३ विकेट लिए । अभय कुमार कर्ण र सन्देश यादवले १/१ विकेट लिए ।
१ सय २६ रनको लक्ष्य इम्पेरियल कलेजले ८ विकेटको क्षतीमा भेटाएको हो । पुरै ओभर खेलेर ८ विकेट गुमाउँदै लक्ष्य भेटाएपछि इम्पेरियल कलेज विजयी भएको नेशनल ईन्फोटेक कलेजका प्रबन्ध निर्देशक मनिष सिंहले जानकारी दिए ।
दोस्रो ईनिङ्ग्समा इम्पेरियल कलेजका अभय कुमार कर्णले १ छक्का र २ चौकाको सहायतामा ३७ बल खेल्दै ३१ रन बनाए । अरुण पटेलले १ चौका प्रहार गरेर २९ बलमा १९ रन जोडे ।
त्रिजुद्धका सिकन्द्र साह कानुले ४ ओभरमा १६ रन खर्चीएर ४ विकेट लिए भने मोहम्मद अली र अरुण साह तुराहाले १/१ विकेट लिए ।
प्रतियोगितामा इम्पेरियल कलेजका बिकास प्रसाद पटेल प्लेयर अफ दी म्याच घोषित भएका छन् । यसअघि आजै भएको पहिलो खेलमा डिएभी कलेजलाई ३८ रनले हराउँदै सत्यम पब्लिक कलेज बिजयी भएको थियो ।
प्रतियोगिताअन्र्तगत भोली पनि दुई खेल हुनेछन् । पहिलो खेल बिहान ८ बजे पुल ‘बी’ का वीरगञ्ज कलेज र वीरगञ्ज पब्लिक कलेज (बिपिसी) बिच प्रतिस्पर्धा हुनेछ । त्यस्तै दोस्रो खेल मध्यान्ह १२ बजे नेशनल ईन्फोटेक र इम्पेरियल कलेजबिच हुने कलेजका प्रबन्ध निर्देशक सिंहले जानकारी दिए ।



